
खोटाङ साउन ११ : मानव अधिकार उल्लङ्घनकर्ता १५ जनालाई कारबाही नभएको पाईएको छ । मानव अधिकार उल्लङ्घनकर्ता भनि कारबाहीको लागि सिफारिश गरिएपनि उनिहरुलाई अझै कारबाही नभएको मानव अधिकार आयोग शाखा कार्यलय खोटाङले जनाएको छ ।
बि.स. २०६० साल भदौ १५ गते खोटाङको साविक चिसापानी गा.वि.स वडा नम्बर ४ का देव बहादुर राई, कैलाश कार्की, धिर बहादुर कार्की र दिपक बिष्टलाई अपहरण गरी हत्या गरेको आरोपमा दोषी ठहर भएपनि नेपाली सेनामा कार्यरत सुवास के.सी र नेपाल प्रहरीमा कार्यरत मनिष मल्ललाई अझै कारबाही हुन नसकेको मानव अधिकार आयोग शाखा कार्यलय खोटाङका प्रमुख श्याम बाबु काफ्लेले बताउँनु भयो ।
यस्तै पाथेकाका किरण राईलाई यातना दिदा निजको मृत्यु भएको आरोपमा दोषी ठहर भएका ११ जना प्रहरीलाई कारबाही नभएको उहाँको भनाई छ । ओखलढुंगा मुलखर्कका दिर्ग बहादुर खत्रीलाई अपहरण गरी यातना दिएको भनि दोषी ठहरीएका तत्कालिन नेकपा माववादीका कार्यक्रता तमाओका इतिहास भनिने सुरेश थापा र चन्द्र प्रकाश भनिने च्वाँचे बोगटीलाई पनि अझै कारबाही नभएको उहाँले बताउँनु भयो ।
मानव अधिकार उल्लङ्घन गर्ने सकारी निकायका ब्यक्तिलाई कारबाही नहुँदा अपराधीको मनोबल बढ्ने भएकाले सम्बन्धित निकायले तत्काल कारबाहीको प्रक्रिया अघि बढाउनु पर्ने प्रमुख काफ्लेको भनाई छ ।
हाल सम्म ३ सय २९ वटा उजुरी, २४ दोषि ठहर
खोटाङ, सोलुखुम्बु, ओखलढुंगा र भोजपुर गरी ४ जिल्ला हेर्दै आएको शाखा कार्यलय खोटाङले हाल भोजपुर बाहेक ३ जिल्लाको मानव अधिकार सम्बन्धि उजुरी हेर्दै आएको छ । हाल सम्म शाखा कार्यलय खोटाङमा मानव अधिकार उल्लङ्घन सम्बन्धि ३ सय २९ वटा उजुरी आएका छन । जस मध्ये २ सयँ ८५ उजुरी अनुसन्धान गरी पठाएकोमा २४ उजुरीमा दोषी ठहर भएको कार्यलयले जनाएको छ । दोषी ठहर भएको उजुरी मध्ये ६ जना दोषी ब्यक्ति पत्ता लगाउँन नसकिएको र पत्ता लागेको दोषी मध्ये हाल सम्म ३ जनालाई मात्र कारबाही भएको छ । पिडित ३७ परिवारले क्षतिपूर्ति बापत ६० लाख १४ हजार ४ सयँ रुपैयाँ पाएको मानव अधिकार आयोग शाखा कार्यलय खोटाङका प्रमुख श्याम बाबु काफ्लेले बताउँनु भयो ।
बाकी ४४ वटा उजुरी अनुसन्धानको अक्रममा रहेको र केहि उजुरीहरु अनुसन्धान प्रक्रिया सकिएर फैसलाको लागि मानव अधिकार आयोगको केन्द्रिय कार्यलयमा पठाउँन लागिएको उहाँको भनाई छ ।
