
खोटाङको रावाबेसी गाउँपालिकाका किसानकोे तरकारी तथा फलफुल कुहिएर जाने समस्याको अन्त्य हुने भएको छ । गाउँपालिकाले भण्डारनको लागि कोल्ड स्टोर निर्माण गर्ने भएपछि किसानको समस्या समाधान हुने भएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रेख बहादुर थापाका अनुसार कोल्ड स्टोर निर्माणका लागि १ करोड ८० लाख लागतको अनुमान गरिएको छ । जस अन्तरगत १ करोड ६ लाख बजेट गाउँपालिकाले बिनियोजन गरिसकेको छ । आर्थिक बर्ष २०७८÷०७९ मा कोल्ड स्टोरको आरसिसि भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको गाउँपालिकाले हाल भवनको डिपिसि सम्मको कार्य सम्पन्न भएको प्रमुख प्रशासकिय अधिकृत थापाले बताउँनु भयो ।
उत्पादनको हिसाबले रावाबेसी गाउँपालिका उर्वर भुमी भएतापनि तरकारी एवं फलफुल सुरक्षित राख्न किसानलाई समस्या हुने गरेको छ । जसले गर्दा किसानको समस्या समाधानको लागि गाउँपालिकाले कोल्ड स्टोर निर्माणको कार्य अघि सारेको गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले बताउँनु भयो । उहाँको भनाई अनुसार निर्माणाधिन स्टोर २ हजार टन क्षमताको हुनेछ भने किसानले न्युनतम शुल्कमा कृषी उपज भण्डारन गर्न सक्नेछन ।

