
अष्ट्रेलिया बंगलादेशसँगको पाँचौं तथा अन्तिम टि२० आई खेलमा मात्र ६२ रनमा अल आउट भएको छ । अष्ट्रेलियालाई अन्तिम खेलमा ६० रनले पराजित गर्दै घरेलु टोली बंगलादेशले पाँच टि२० आई सिरिज ४–१ ले जितेको छ ।
जितको लागि १ सय २३ रनको सामान्य विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया १३.४ ओभरमा ६२ रनमा अल आउट भयो । अष्ट्रेलिया ये टि२० आई इतिहासकै सवैभन्दा कम योगफल हो । यसअघि अष्ट्रेलिया टि२० आईमा सबैभन्दा कम योगफल इंग्ल्यान्डविरुद्ध २००५ मा ७९ रन थियो ।
अष्ट्रेलिया कप्तान म्याथ्यु वेडले २२ बलमा २ छक्का सहित सर्वाधिक २२ रनको योगदान दिए । बेन म्याकडेरमोट १६ बलमा १ छक्का सहित १७ रनमा आउट भए । अन्य ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
ओपनर ड्यानियल क्रिष्टिउन ३, मिचेल मार्श ४, एलेक्स केरी र मोइजेस हेनरिक्स ३–३ रनमा आउट भए । तल्लोक्रमका एश्टन टर्नर १ र एश्टन अगर २ रनमा आउट भए । बंगलादेशका स्पिनर सकिब अल हसन ३.४ ओभरमा १ मेडन सहित ९ रन खर्चेर ४ विकेट लिए । तीव्र गतिका बलर मोहम्मद सैफुद्दिनले ३ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए । नासुन अहमद २ र कप्तान महमुदूल्लाह रियादले १ विकेट लिए ।
त्यसअघि शेरे बंगला राष्ट्रिय स्टेडियम ढाकामा टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २२ रन बनायो । बंगलादेशका ओपनर मोहम्मद नईमले २३ बलमा १ चौका र १ छक्का सहित सर्वाधिक २३ रन बनाए । माहेदी हसन १३, सकिब ११, सौम्य सरकार १६, महमुदूल्लाह १९, नुरुल हसन ८ र अफिफ हुसैन १० रनमा आउट भए ।
अष्ट्रेलिया नाथन एलिस र ड्यानियल क्रिष्टियन २–२ विकेट लिए । एश्टन टर्नर, एश्टन अगर र एडम जाम्पाले १–१ विकेट लिए । प्रमुख ब्याट्सम्यान डेविड वार्नर, स्टिभ स्मिथ, आरोन फिन्च, ग्लेन म्याक्सवेल र मार्कस स्टोइनिस बिनानै बंगलादेश भ्रमण गरेको अष्ट्रेलियाले इतिहासकै खराब प्रदर्शन गर्न पुगेको छ ।
बंगलादेश पहिलो खेलमा २३ रन, दोस्रो खेलमा पाँच विकेट र तेस्रो खेलमा १० रनले विजयी हुँदै अष्ट्रेलियाविरुद्ध इतिहासकै पहिलो सिरिज जित्न सफल भएको थियो । चैथो खेलम बंगलादेश तीन विकेटले पराजित भएको थियो ।
