Thursday, April 16News That Matters

खोटाङका ४५ वडामा कांग्रेसको सर्वसहमत वडा कार्य समिति चयन, रावाबेसीमा युवाको वर्चस्व

खोटाङका ४५ वडामा कांग्रेसको सर्वसहमत वडा कार्य समिति चयन गरिएको छ । आजबाट सुरु भएको अधिबेसनका क्रममा जिल्लाका ४५ वटा वडामा सर्वसहमत समिति चयन गरिएको नेपाली कांग्रेस खोटाङका जिल्ला सचिव ज्ञानेन्द्र जोशीले जानकारी दिनुभयो ।

जिल्लामा दुई नगरपालिका र आठ गाउँपालिकाका ७९ वडा रहेका छन । जसमध्ये ४५ वडामा सर्वसहमत र केहि वडामा चुनाव मार्फत आज नेतृत्व चयन भएको छ भने अन्य वडामा भोली बिहान ७ बजेबाट चुनाव हुने उहाँले बताउँनु भयो । विवादका कारण दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाको वडा अधिबेसन स्थगित गरिएको छ । चुनावका लागि वडाध्यक्षको मनोनयन दर्ता गर्ने क्रममा विवाद भएपछि आजरको वडा अधिबेसन स्थगित गरिएको मतदान अधिकृत घनश्याम आचार्यले बताउँनु भयो ।

यस्तै रावाबेसी गाउँपालिकाको ६ वटै वडामा सर्वसहमत नेतृत्व चयन भएको छ । । यता हलेसी तुवाचुङ नगरपालिकाको २,३,५,६,७,८ र १० नम्बरमा सर्वसहमत नेतृत्व चयन भएको छ भने वडा नम्बर ११ मा चुनावी प्रक्रियाबाट नेतृत्व चयन भएको छ । जिल्लाका अन्य स्थानीय तहका केहि वडामा सर्वसहमत नेतृत्व चयन भएको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिकामा २ वटा वडा बाहेक सबै वडामा चुनाव हुने भएको छ । सर्वसहमतमै वडा कार्य समिति चयन भएपनि क्षेत्रिय प्रतिनिधिको लागि भने घम्साघम्सी हुने देखिन्छ ।

रावाबेसीमा युवाको वर्चस्व

१० वटा स्थानीय तह रहेको जिल्लाको रावाबेसी गाउँपालिकामा मात्रै सबै वडामा सर्वसहमत नेतृत्व चयन भएको छ । आज सुरु भएको अधिबेसनमा सबै वडामा युवाको नेतृत्वमा वडा कार्य समिति चयन भएको क्षेत्रिय प्रतिनिधि चिरन कार्कीले बताउँनु भयो ।

गाउँपालिकाको वडा नम्बर ६ मा सबै भन्दा कम उमेरका २९ बर्षिय बिष्णु कुमार राई वडा सभापती र सोहि उमेरका शुक्र बहादुर श्रेष्ठ सचिवमा चयन हुनु भएको छ । यस्तै वडा नम्बर १ कुभिण्डेमा गेहेन्द्र राई, वडा नम्बर २ खार्पामा भक्त राई, वडा नम्बर ३ लामिडाँडामा हेम मगर, वडा नम्बर ४ डुम्रेधारापानीमा फडिन्द्र अधिकारी र वडा नम्बर ५ दुबेकोलमा मोहन गुरुङ वडा सभापतीमा सर्वसहमत चयन हुनु भएको छ । उहाँहरु सबै ४० बर्ष भन्दा कम उमेरको रहेको क्षेत्रिय प्रतिनिधि कार्कीले बताउँनु भयो ।