
खोटाङको खोटेहाङ गाउँपालिकाले बिद्यार्थीको भौतिक उपस्थितीमा पठनपाठन सुरु गरेको छ । गाउँपालिकामा कोरोना भाईरस को संक्रमणदर कम हुँदैगएपछि हिजो बिहिबार बाट पठनपाठन सुरु गरेको गाउँपालिकाले जनाएको छ ।
शिक्षक सङ्ख्या र विद्यार्थी सङ्ख्या कम भएको बिद्यालय बिहान १० बजेदेखी दिउँसो २ बजे सम्म सञ्चालन गरिनेछ । यस्तै शिक्षक सङ्ख्या र विद्यार्थी सङ्ख्या धेरै भएको बिद्यालयमा कक्षा ५ सम्मको पठनपाठन बिहान ७ बजेदेखि १० बजेसम्म र कक्षा ६ देखि कक्षा १० सम्मको पठनपाठन बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन गरिने गाउँपालिका अध्यक्ष प्रदिप राईले जानकारी दिनुभयो ।
विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७८ को दफा ५ को उपदफा ४ अनुशार गाउँशिक्षा समितिको भदौ ८ गतेको बैठकले आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै पठनपाठन सुचारु गरिएको गाउँपालिका अध्यक्ष राईले बताउँनु भयो ।
जन्तेढुंगामा भदौ २७ देखि
जन्तेढुंगा गाउँपालिकाले भदौ २७ गतेबाट बिद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । हिजो बिहीवार बसेको गाउँपालिका शिक्षा समितिको बैठकले कोरोना भाईरस संक्रमणको कारण लामो समय बन्द रहेका बिद्यालय सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष शंखर बहादुर राईले बताउँनु भयो ।
गाउँपालिकामा कोरोना संक्रमणदर न्युन रहेकाले बिद्यालय सञ्चालन गर्ने निर्णय गरिएको उहाँको भनाई छ । भदौ २५ गते बिद्यालय व्यवसथापन समिति, विद्यालय अभिभावक संघ र वडाका जनप्रतिनिधि बसेर छलफल हुनेछ । त्यसपश्चात कोभिड १९ को संक्रमणबाट बच्न आवश्यक स्वास्थ्य मापदण्ड पालना गरेर २७ गतेबाट बिद्यार्थीको भौतिक उपस्थितीमा पठनपाठन सुरु हुने गाउँपालिका अध्यक्ष राईले बताउँनु भयो ।
