
खोटाङ भदौ १७ गते : खोटाङको रावाबेसी गाउँपालिका क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क नहुँदा समस्या भएको स्थानीयले बताएका छन । गाउँपालिकाको सबै वडाको तल्लो क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क नआउँदा फोन गर्न डाँडा खोज्दै हिड्नु पर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ ।
गाउँपालिकाको वडा नम्बर २ खार्पा र वडा नम्बर ५ दुबेकोलमा टेलीकमको टावार निर्माण भएको दुई बर्ष पुग्नै लाग्दा पनि हाल सम्म सञ्चालनमा नआएको स्थानीय बिष्णु उपरकोटीले बताउँनु भयो । घरबाट टेलीकमको टावार देखिन थालेको दुई बर्ष भयो तर आज सम्म मोबाईलमा नेटवर्कले प्रवेश नगरेकोे अर्का स्थानीय जीनब तामाङको भनाई छ ।
गाउँपालिकाको कार्यलयमा नेटवर्क नआउँदा सेवा प्रभाहमा समेत समस्या भएको प्रमुख प्रशासकीय अधिकृत रेख बहादुर थापाले बताउँनु भयो । अतिआवश्यक काम पर्दा फोन गर्नको लागि कार्यलय छाडेर डाँडा तीर निस्कनु पर्ने बाध्यता रहेको उहाँको भनाई छ । हाल कोरोना भाईरसको कारण भौतिक उपस्थितीमा बिद्यालय सञ्चालन गर्न समस्या हुँदा अनलाईन र फोन मार्फत पठनपाठनलाई निरन्तरता दिनु पर्ने बाध्यता छ । जसको लागि गाउँपालिकाले सबै बिद्यार्थीलाई नेपाल टेलीकमको सियुजी सिमकार्ड पनि बितरण गरिसकेको शिक्षा शाखा संयोजक तिर्थराज दाहालले बताउँनु भयो । तर गाउँपालिकाको तल्लो क्षेत्रमा टेलीकमको नेटवर्क नआउँदा अनलाइन कक्षा सञ्चालनमा समस्या भएको उहाँको भनाई छ ।
गाउँपालिकामा टावर सञ्चालन गर्न ताकेता गरिरहेको तर टेलीकमले वास्ता नगरे जस्तो देखिएको गाउँपालिका अध्यक्ष लिलानाथ निरौलेले बताउँनु भयो । यता स्थानीय नागरिकको भनाई अनुसार गाउँपालिकामा निर्माण हुँदै गरेको दुई वटै टावरमा बिद्युत पु¥याउँने लगाएतको काम सकिएको १ बर्ष भईसकेको छ । तर निर्माणको काम सकेर टावर सञ्चालन नगरी नेपाल टेलीकमका कर्मचारी गुमनाम भएको उनिहरुको गुनासो छ ।
यता खोटाङ, ओखलढुंगा र सोलुखुम्बु तिन वटा जिल्ला हेर्दै आएको टेलीकम कार्यलय ओखलढुंगाका प्रमुख दिनेश चन्द्र पन्थीले कोरोना भाईरस र निरन्तरको बर्षातको कारण टावर सञ्चालनमा ल्याउँन ढिला भएको बताउँनु भयो । भर्खरै बिद्युत पु¥याउने काम सकिएको हुँदा करीब १ महिना भित्रमा टावर सञ्चालनमा ल्याउँने बताउँनु भएको छ ।
