
खोटाङमा करेण्ट लागेर एक ट्याक्टर चालकको ज्यान गएको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिकामा सञ्चालित (बृहत पम्पिङ) खानेपानी आयोजनाका ट्याक्टर चालकको करेण्ट लागेर हिजो साँझ ज्यान गएको हो ।
नगरपालिकाको वडा नम्बर ७ काभ्रेस्थित आयोजनाको क्रसर उद्योगका लागि पानी ल्याएर खसाउने क्रममा करेन्ट लाग्दा चालकको ज्यान गएको बताईएको छ । १९ बर्षीय चालक पुष्प परियारको घर नगरपालिका ६ मंगलटार रहेको वडाध्यक्ष रमेश राउतले जानकारी दिनुभयो ।
डालामा पानी बोक्ने ट्यांक जोडिएको ट्याक्टरमा पानी बोकेर क्रसरमा पु¥याएपछि पानी खसाल्नका लागि ट्यांकीमा चढेर पाईप जोड्नलाई उभिँदा माथि उनले झुण्डिएको विद्युतको तार छुन पुगेका थिए । हाइटेन्सन लाईन छुदा गम्भीर घाईते भएका चालकलाई उपचारको लागि दुर्छिम स्वास्थ्यचौकी लगिएको थियो । तर स्वास्थ्य चौकी पु¥याउँने बित्तिकै चालक परियारलाई मृत घोषणा गरिएको थियो ।
