Thursday, April 16News That Matters

खोटाङका अधिकांश बिद्यालय सञ्चालनमा

खोटाङ भदौ २८ गते : कोरोना भाईरस संक्रमणका कारण लामो समय बन्द रहेका खोटाङका अधिकांश बिद्यालयहरु सञ्चालनमा आएका छन । जिल्लामा कोरोनाका संक्रमितको सङ्ख्यामा कमि आएसँगै बिद्यार्थीको भौतिक उपस्थितीमा पठनपाठन गर्ने गरी बिद्यालयहरु सञ्चालनमा आएका हुन ।

जिल्लामा दुई नगरपालिका र आठ गाउँपालिका गरी दश वटा स्थानीयतहरु रहेका छन । जस मध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कोरोना भाईरसको संक्रमणबाट बच्न उचित स्वास्थ्य मापदण्ड पालना गर्दै आईतबार बाट बिद्यालयहरुमा बिद्यार्थीको भौतिक उपस्थितीमा पठनपाठन सुरु भएको नगरपालिकाका शिक्षा शाखा संयोजक तिर्थ बहादुर बिकले जानकारी दिनुभयो ।

यस्तै जिल्लाको जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिकामा पनि आईतबार बाटै पठनपाठन सुरु भएको गाउँपालिकाले जनाएका छन । अनलाईन कक्षा सञ्चालन गरेर बिद्यार्थीको पठाईलाई निरन्तरता दिईरहेको भएपनि अनलाई कक्षा सोचे अनुसारको प्रभावकारी नभएपछि संक्रमणदर घट्दै गएको कारण बिद्यार्थीको भौतिक उपस्थितीमा नै पठनपाठन सुरु गरिएको जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष शंखर बहादुर राईले बताउँनु भयो ।

यस्तै जिल्लाको खोटेहाङ गाउँपालिकामा भदौ १७ गते बाट बिद्यालय सञ्चालनमा आएको छ । शिक्षक सङ्ख्या र विद्यार्थी सङ्ख्या कम भएको बिद्यालय बिहान १० बजेदेखी दिउँसो २ बजे सम्म सञ्चालन गरिएको छ । यस्तै शिक्षक सङ्ख्या र विद्यार्थी सङ्ख्या धेरै भएको बिद्यालयमा कक्षा ५ सम्मको पठनपाठन बिहान ७ बजेदेखि १० बजेसम्म र कक्षा ६ देखि कक्षा १० सम्मको पठनपाठन बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष प्रदिप राईले बताउँनु भयो ।

कोभिड संक्रमण कम भएपछि मास्क र सेनिटाईजर प्रयोग गर्दै बिद्यार्थीको जोर बिजोरको सङ्ख्यामा जिल्लाको ऐसेलुखर्क गाउँपालिका, केपिलासगढी गाउँपालिका र रावाबेशी गाउँपालिकामा पनि केही विद्यालय बाहेकमा पठनपाठन भईरहेको गाउँपालिकाले जनाएका छन ।

जिल्लाको दुई स्थानीय तह हलेसी तुवाचुङ नगरपालिकामा असोज ३ गते र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा असोज ७ गतेबाट बिद्यार्थीको भौतिक उपस्थितीमा बिद्यालय सञ्चालन गर्ने स्थानीय तहको तयारी छ । यस्तै साकेला गाउँपालिकाले भने केहि दिन भित्र शिक्षा समितिको बैठक बसेर बिद्यालय सञ्चालनमा ल्याउँने गाउँपालिकाका अध्यक्ष अर्जुन कुमार खड्काले बताउँनु भयो ।