Thursday, April 16News That Matters

खोटाङमा प्रहरीले रोक्यो बाल विवाह

खोटाङमा प्रहरीले बाल विवाह रोकेको छ । दुलहीको उमेर नपुगी विवाह गर्न लागेको सूचना आएपछि ऐसेलुखर्क गाउँपालिका २ बाकाचोलमा प्रहरीले बाल विवाह रोकेको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ ।

ऐसेलुखर्क गाउँपालिका २ बाकाचोलकी १७ बर्षिया बालीका र सोहि गाउँपालिका ४ जलेश्वरीका २१ बर्षका युवक बिच शुक्रबार विवाह हुन लागेको थियो । दुलही लिन जन्ती आएपछि दुलहीको उमेर नपुगि विवाह हुन लागको भन्दै गाउँलेले प्रहरीलाई खबर गरेका थिए । गाउँलेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यलय ऐसेलुखर्कबाट खटिएको प्रहरी टोलीले उक्त विवाह रोकेको प्रहरी निरिक्षक एवं जिल्ला प्रहरी कार्यलय खोटाङका प्रवक्ता सागर शाहले बताउँनु भयो ।

दुलहीको उमेर १७ बर्ष मात्र भएको र यस्तो विवाह कानुन बिपरीत भएको कारण विवाह गर्न नमिल्ने भनेर दुवै परिवारलाई प्रहरीले सम्झाएको उहाँको भनाई छ । विवाह प्रहरीले रोकेपछि दुलहा र जन्ती घर फर्केको प्रहरी निरिक्षक शाहले बताउँनु भयो ।