Thursday, April 16News That Matters

आत्महत्या रोकथामको लागि स्थानीय तहले बार्षिक कार्यक्रम सञ्चालन गर्नुपर्छ-मानव अधिकार आयोग खोटाङ

खोटाङ भदौ ३१ गते : खोटाङमा पछिल्लो समय बढ्दै गएको आत्महत्याका घटना रोकथाम एवं न्युनिकरणको लागि स्थानीय तहले बिशेष भुमिका खेल्नु पर्ने मानव अधिकार आयोगले जनाएको छ । आत्महत्या रोकथामाको लागि स्थानीय तहले बार्षिक निति तथा कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको ठहर गर्दै राष्ट्रिय मानव अधिकार आयोगको प्रदेश नं. १ शाखा कार्यालय दिक्तेलले पत्रचार गरेको कार्यलय प्रमुख श्यामबाबु काफ्लेले जानकारी दिनुभयो ।

प्रमुख काफ्लेको भनाई अनुसार जिल्ला समन्वय समिति खोटाङ मार्फत स्थानीय तहहरू, जिल्ला स्वास्थ्य कार्यालय मार्फत स्वास्थ्य संघसंस्थाहरू, शिक्षा विकास तथा समन्वय इकाई मार्फत शिक्षण संघसंस्थाहरू, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, खोटाङ जिल्ला अदालत बार एशोसिएसन, नेपाल पत्रकार महासंघ र गैरसरकारी संस्था महासंघलाई पत्राचार गरिएको छ ।

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा भदौ २५ गते दिक्तेलमा आयोजित ‘आत्महत्या रोकथाममा सरोकारवालाहरूको भूमिका’ विषयक कार्यक्रममा भएको छलफलको आधारमा खोटाङ जिल्लामा विकराल रुपमा बढ्दै गएको आत्महत्या रोकथाम तथा न्यूनिकरणका लागि भूमिका निर्वाह गर्ने सन्दर्भमा पत्राचार गरिएको उहाँले बताउँनु भयो ।

पत्रमा आत्महत्या रोकथाम र न्यूनिकरणको लागि उक्त निकायहरुले खेल्नसक्ने भूमिकाको बारेमा उल्लेख गरिएको छ । पत्रमा भनिएको छ मुख्यरुपमा उल्लिखित निकायहरूबाट वार्षिक नीति र कार्यक्रम नै तय गरी कार्यान्वयन गर्ने, प्रत्येक वडामा मनोविमर्शकर्ताको व्यवस्था गर्ने, आयमुलक र रोजगारमुलक कार्यक्रमलाई उच्च प्राथमिकता दिने, जिल्लामा नै मानसिक रोगीहरूको उपचारको व्यवस्थाको लागि तालुक कार्यालयमा पहल गर्ने; घरेलु हिंसा, लैंगिक हिंसा, दुव्र्यवहार, सामाजिक बहिष्कार जस्ता घटनामा जानकारी प्राप्त हुनासाथ कारवाही अगाडी बढाउने, जिल्लामा मानसिक रोगीको उपचारको लागि विशेषज्ञ चिकित्सक समेतको स्थायी दरबन्दीको पहल गर्ने तथा मनोविमर्श सम्बन्धमा टेलिफोनिक परामर्श सेवा सञ्चालनको पहल गर्ने सन्दर्भमा ती निकायहरूको भूमिका हुने उल्लेख गरिएको छ । साथै शिक्षक र विद्यार्थीहरु बीच आत्महत्या विरुद्धका सचेतनामुलक कार्यव्रmम सञ्चालन, मनोसामाजिक परामर्शकर्ताको रुपमा विद्यालयमा कम्तीमा एक जना शिक्षकलाई तालिम, आत्महत्या विरुद्धका जनचेतनामुलक कार्यव्रmम सञ्चालन, मनोसामाजिक परामर्श, पीडितलाइ राहत परिचालन, निःशुल्क कानूनी सहायताको व्यवस्था र आत्महत्याको जोखिममा रहेका परिवार वा व्यक्तिको पहिचान गरी रोकथामको लागि कार्य गर्ने सन्दर्भमा पनि भूमिका रहने पत्रमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङको तथ्याङ्क अनुसार आ.व. २०७५\०७६ देखि आ.व. २०७७\०७८ सम्म तीन वर्षमा खोटाङ जिल्लामा पुरुष १०३, महिला ५१, बालक १४ र बालिका ७ जनाबाट आत्महत्या भएको छ ।