
खोटाङ असोज १ गते : खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले संविधान दिवस २०७८ लाई लगातार तीन दिन मनाउने निर्णय गरेको छ । नगर प्रमुख इवन राईको अध्यक्षतामा भदौ ३० गते बसेको नगरकार्यपालिकाको बैठकले यो बर्षको संविधान दिवस तीन दिन मनाउने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।
नेपालको संविधान, २०७२ जारी भएको दिनको सम्झनामा हरेक वर्ष असोज ३ गतेलाई नेपालमा संविधान दिवस मनाउने गरिन्छ । सोहि अवसरमा यो बर्षको संविधान दिवस हलेसी तुवाचुङ नगरपालिकाले असोज २,३ र ४ गते लगातार तिन दिन मनाउने निर्णय गरेको नगरपालिकाका सूचना अधिकारी रवि किरण आचर्यले जानकारी दिनुभयो ।
नगरपालिका भीत्रका वडा कार्यलय, स्वास्थ्य संघसंस्थाहरु, सामुदायिक तथा संस्थागत बिद्यालयहरु, सरकारी तथा गैरसरकारी निकायहरु, वित्तिय तथा सहकारी संस्थाहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुको कार्यलयमा ३ दिन दिप प्रज्ज्वलन गरेर संविधान दिवस भब्यताका साथमा मनाउँन सूचना जारी गर्दै नगरपालिकाले निर्देशन दिएको छ ।
यस्तै यो बर्ष पनि कोभिड १९ संक्रमणको कारण भेला हुने कुनै पनि कार्यक्रम आयोजना नगरिएको तर हरेक कार्यलय र नागरिकका घरमा दिप प्रज्ज्वलन गरेर संविधान दिवस २०७८ लाई भब्यताका साथ मनाउन नगरपालिकाले अनुरोध गरेको सूचना अधिकारी आचर्यले बताउँनु भयो ।
