Thursday, April 16News That Matters

खोटाङमा नागरिकता लिनेको सङ्ख्या बढ्यो

खोटाङ, असोज ११ : जिल्ला प्रशासन कार्यालय खोटाङबाट पाँच महिनामा १६ सय ४७ जनाले नागरिकता लिएका छन् । कार्यालयको नागरिकता शाखाका अनुसार प्रतिलिपि, संशोधन र नयाँ गरी चालु वर्षको वैशाखदेखि भदौ मसान्तसम्मको अवधिमा सो संख्याको राहदानी वितरण भएको हो ।

दुई जनाले वैवाहिक अंगीकृत र बाँकीले वंशजका आधारमा नागरिकता लिएका हुन् । नागरिकता लिनेमा ९ सय ५३ पुरुष र ६ सय ९४ महिला रहेका सहायक प्रमुख जिल्ला अधिकारी सरस्वती खनाल पौडेलले जानकारी दिनुभयो ।

यस अवधिमा भदौ महिनामा सबैभन्दा बढी र जेठ महिनामा सबैभन्दा कमले नागरिकता लिएका छन् । भदौमा ३ सय ४९ पुरुष र २४७ जना महिला गरी ५९६ जनाले नागरिकता लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जेठमा भने एक जना पुरुषले मात्र नागरिकता लिएका छन् । दोस्रो लहरको कोरोना भाइरस संक्रमण बढेपछि जिल्लामा निषेधाज्ञा जारी गरिएकाले जेठ महिनामा नागरिकता वितरण प्रभावित भएको सहायक प्रजिअ पौडेलले बताउनुभयो ।

अहिले कोरोना संक्रमण क्रमशः घट्दै गएको तथा जिल्लामा निषेधाज्ञाको अवस्था नरहेकाले नागरिकता वितरणमा सहजता आएसँगै नागरिकता लिनेको संख्या बढेको उहाँको भनाइ छ ।