
काक्तिक ४ गते : बेमौससी वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरोले ८७ जनाको ज्यान गएको छ। २८ जना बेपत्ता छन्। १२ घाइते छन्। ३० वटा घर पूर्ण क्षति भएका छन् भने १ सय बढी चौपाया मरेका छन । नेपाल प्रहरीका अनुसार ६ सय ६९ घर डुवानमा परेका छन । ५० घरमा पानी पसेको छ ।
पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पहिरो र खोलाले बगाउँदा २१ जनाको ज्यान गएको छ। ३ जना बेपत्ता छन्। इलाममा पहिरोले पुरेर ११ जनाको मृत्यु भएको छ । खोलाको भेलले बगाएर थप एक र रूखले किचेर १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । बाढी र पहिरोबाट ४० जिल्ला बढी प्रभावित छन ।
नेपाल प्रहरी प्रवक्ता बसन्त कुँवरका अनुसार प्रदेश नम्बर १ मा ५३, बागमती प्रदेशमा १, सुदूरपश्चिममा २६ र कर्णालीमा ७ जनाले बाढी र पहिरोमा परी ज्यान गुमाएका छन् । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले सुर्खेत, कैलाली र इटहरीलाई केन्द्र बनाएर सेनाको हेलिकप्टरबाट घाइतेको उद्धार भइरहेको बताउनु भयो ।
त्यस्तै उदयपुरमा छुट्टाछुट्टै खोलाले बगाउँदा एक सरकारी कर्मचारीसहित २ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उदयपुरगढी गाउँपालिका–८ का ५९ वर्षीय कृष्णबहादुर श्रेष्ठ र त्रियुगा नगरपालिका–५ लालपतास्थित बिलाउनेका ४० वर्षीय टुकबहादुर खड्काको ज्यान गएको छ ।
धनकुटा चौबीसे गाउँपालिका–१ गडेरेका भीमबहादुर श्रेष्ठको घर पहिरोले पुरिँदा दसैंमा टीका थाप्न आएका आफन्तले पनि ज्यान गुमाएका छन् । ६ जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।
यस्तै हुम्लाको खार्पुनाथ गाउँपालिका ठूलो–५ खर्पेलका धनबिरे शाहीको घर पहिरोले पुरिँदा एकै परिवारका ६ जनाको ज्यान गएको छ ।
