
खोटाङ कार्तिक ८ गते : मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको बगालेचोकमा सवारी दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । आज दिउँसो करिब ३ बजे काठमाडौँबाट दिक्तेलतर्फ आउँदै गरेको ना. १ ज. ४६९१ को नं. को सुमो र विपरीत दिसाबाट जाँदै गरेको बा ८२ प ५३६० नं. को मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।
दुर्घनामा परी मोटरसाइकल चालक रावाबेँसी गाउँपालिका–१, कुभिण्डेका २६ वर्षीय सोम राई गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सागर शाहले जानकारी दिनुयभो । घाइते राईको अनुहार र चिउँडोमा गहिरो चोट लागेको र उहाँलाई उपचारका लागि जिल्ला अस्पताल खोटाङ लगिएको प्रहरी निरीक्षक शाहले बताउनुभयो ।
ठक्कर दिने सुमोसँगै सुमोका चालक राबावेँसी गाउँपालिका–३ का ३१ वर्षीय उमेश खत्री र मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेका छन् । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
