खोटाङ कार्तिक ९ गते : जिल्लामा ट्राफिक नियम विपरीत सञ्चालन भएका सवारी साधन कारबाहीबाट संकलन हुने राजश्वमा वृद्धि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले पछिल्लो एक महिनामा ४ लाख ७० हजार राजश्व संकलन गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी इन्चार्ज दिलबहादुर खत्रीका अनुसार असोज महिनामा ५ सय ५० वटा सवारी साधन कारबाहीबाट उक्त परिमाणको राजश्व उठेको हो । अघिल्लो महिना भदौमा ५ सय ८७ सवारी साधन कारबाहीबाट ४ लाख ४४ हजार राजश्व संकलन भएको थियो ।
असोज महिनामा नेपालीहरूको महान चाड दसैँ परेकोले विगतमा भन्दा ट्राफिक सुरक्षा व्यवस्था कडा पारिएको तथा सोहीबीच बेमौसमी वर्षाले जिल्लाका विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा सवारी साधन कम चलेकाले कारबाहीको संख्या भने केही घटेको खत्रीको भनाइ छ ।
ट्राफिक प्रहरीका अनुसार जिल्लामा सबैभन्दा बढी मोटरसाइकल कारबाहीमा पर्ने गरेका छन् । असोज महिनामा मात्र ३ सय २१ वटा मोटरसाइकल कारबाहीमा परेका छन् । यस्तै, कार–जीप–भ्यान ११६, ट्रक ५७, ट्याक्टर ३३, अटो–टेम्पो १३, बस ७, टिप्पर २, र अन्य १ वटा सवारी ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् ।
सवारी चालक अनुमतिपत्र नलिएका, हेल्मेट र सिटबेल्ट नलगाएका, साथमा लाइसेन्स र बिलबुुक नबोकेका, तोेकिएभन्दा बढी भार बोक्ने, ओभरस्पिडमा र मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउँदा हुुन सक्ने सम्भावित दुुर्घटनाबाट जोगाउन ट्राफिक प्रहरीले चालकलाई दैनिक ट्राफिक सचेतना प्रदान गर्ने गरेको छ ।
चाडपर्वको समयमा यात्रुलाई पर्न सक्ने समस्यालाई ख्यालमा राख्दै जिल्ला सदरमुकाम दिक्तेलस्थित रत्नपार्कमा यात्रु सहायता कक्ष पनि सञ्चालन गरिएको छ । सहायता कक्षमा हालसम्म दुई जना यात्रुले गुनासो राखेका ट्राफिक प्रहरी इन्चार्ज खत्रीले बताउनुभयो ।
यस्तै, असोज महिनामा चार वटा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु र तीन जना घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ । जिल्लामा हिजो मात्रै सुमो र मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए । मध्यपहाडी लोकमार्ग अन्तर्गत जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको बगालेचोकमा भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक रावाबेँसी गाउँपालिका–१ कुभिण्डेका २६ वर्षीय सोम राई गम्भीर घाइते हुुनुभएको थियो । उहाँलाई हिजै उपचारका लागि काठमाडौँ रेफर गरिएको छ ।
