
पवन खड्का/११ कात्तिक, खोटाङ । असोज ३१ देखि कात्तिक २ गतेसम्म भएको बेमौसमी वर्षाले खोटाङमा ७ हजार ७ सय ४६ दशमलव ९६ हेक्टर क्षेत्रफलको अन्नबालीमा क्षति पुगेको छ । स्थानीय तहका कृषि शाखाले ढिला गरी उपलब्ध गराएको विवरणका आधारमा सो क्षति पुगेको देखिएको कृषि ज्ञान केन्द्र खोटाङले जनााएको छ ।
बेमौसमी वर्षाले जिल्लामा सबैभन्दा बढी धानबालीमा क्षति पु-याएको छ । १२ हजार ८ सय ९८ हेक्टरमा लगाइएको धानमध्ये ५ हजार ५ सय २२ दशमलव ६२ हेक्टरमा क्षति पुगेको केन्द्रका प्रमुख हरिनारायण राईले जानकारी दिनुभयो ।
यसैगरी २१ हजार ३ सय १५ हेक्टरमा लगाइएको कोदो बालीमध्ये २१ सय ७३ दशमलव ७९ हेक्टरमा क्षति पुगेको छ । ७ दशमलव ५ हेक्टरमा लगाइएको मकै, ३ हेक्टरमा लगाइएको जुनेलो, १ दशमलव ०५ हेक्टरमा लगाइएको फापर र १ हेक्टरमा लगाइएको गहतमा क्षति भएको कृषि ज्ञान केन्द्रको तथ्यांक छ ।
बेमौसमी वर्षाले जिल्लामा लगाइएको तरकारी तथा फलफुलमा समेत क्षति पु-याएको छ । १ दशमलव ५ हेक्टरमा लगाइएको अकबरे खुर्सानी, ११ दशमलव ५ हेक्टरमा लगाइएको बन्दा, काउली, गोलभेँडा लगायतका तरकारी तथा २५ हेक्टरमा लगाइएको विभिन्न जातका फलफुल नष्ट भएको केन्द्रले जनाएको छ । केन्द्रले जिल्लामा भएको क्षतिको विवरण जिल्ला प्रशासन कार्यालय, प्रदेश १ को कृषि विकास निर्देशनालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा पठाइसकेको छ ।
पाकेर थन्क्याउने बेलामा बेमौसमी वर्षाले अन्नबाली नष्ट गरेपछि जिल्लाका किसान चिन्तामा छन् । पीडित किसानले राहत माग गरिरहेको भए पनि माथिल्लो निकायबाट राहतका कार्यक्रम नआएसम्म जिल्ला कृषि ज्ञान केन्द्रसँग कुनै राहत प्याकेज नहुने केन्द्र प्रमुख राईको भनाइ छ ।
