
खोटाङ कार्तिक १३ गते : जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले महिलाहरूलाई स्वरोजगार बनाउन तीन महिने सीपमूलक ढाका बुनाइ तालिम प्रदान गरेको छ ।
आर्थिक रुपमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ नगरपालिकाको ९ नं. वडा निर्मलीडाँडास्थित साकेला महिला समूहका ७ जना महिलालाई तालिम दिइएको नगरपालिकाकी उपप्रमुख विणादेवी राईले जानकारी दिनुभयो ।
नगरपालिका र ९ नं. वडाको आर्थिक सहयोगमा गत साउन १४ गतेबाट सुरु तालिममा चन्द्रकला राईले सहजीकरण गर्नुभएको थियो ।
तालिममा सहभागी महिलाले ढाकाको कपडाबाट साडी, कोट, सललगायतका कपडा बनाउन सिकेका छन् । उनीरूले उत्पादनसमेत थालिसकेका र ठूलो मात्रामा उत्पादन गरे नगरपालिकाले बजारीकरणमा सहयोग गर्ने उपप्रमुख राईले बताउनुभयो ।
तालिमका समापनका अवसरमा आज प्रशिक्षिकालाई प्रशंसापत्र र प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको छ । नगरपालिकाले विगतका वर्षमा पनि नगरभित्रका महिलाई यस प्रकारको तालिम दिएको थियो ।
वर्तमान समयमा लोकप्रिय बन्दै गएको ढाकाका कपडाबाट निर्मित सामानहरू उपहारका रूपमा बढी चल्ने गरेको छ । युरोपियन मुलुक, अमेरिका, सिक्किम, दार्जिलिङ तथा विश्वको धेरै मुलुकमा नेपाली ढाका चर्चित छ ।

