२५ कात्तिक, खोटाङ । खोटाङमा प्रसव व्यथाले स्वास्थ्य अवस्था गम्भीर बनेकी एक गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको जन्तेढुंगा गाउँपाािलका–५, चिसापानीकी १९ वर्षीया हीरा राया खड्कालाई राष्ट्रपति महिला उत्थान कार्यक्रमको निःशुल्क हवाइ सेवाबाट उद्धार गरिएको हो ।
पारिवारिक स्रोतका अनुसार खड्कालाई हिजोदेखि प्रसव व्यथा लागेको थियो । अवस्था गम्भीर बन्दै गएपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी पुग्नुभएकी खड्काको बच्चा खेल्ने पानीको मात्रा घटेको देखिएको केन्द्रले जनाएको छ । केन्द्रले त्यहाँ उपचार सम्भव नभएपछि उद्धारको पहलका लागि जिल्ला प्रशासन कार्यालय खोटाङलाई पत्र पठाएको थियो ।
केन्द्रले पठाएको पत्रका आधारमा प्रशासनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम, समन्वय इकाइ, सिंहदरबारलाई हेलिकोप्टरको व्यवस्थाका लागि पत्र लेखेको थियो । प्रशासनको सिफासिरका आधारमा मन्त्रालयले हेलिकोप्टरको व्यवस्था गरेपछि खड्कालाई आज दिउँसो चिसापानीबाट उद्धार गरी प्रसूति गृह थापाथली काठमाडौँ पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले जानकारी दिनुभयो ।
योसहित जिल्लाबाट पछिल्लो चार दिनको अन्तरालमा प्रसव व्यथा सम्बन्धी विभिन्न समस्या देखिएका चार जना गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरी सुविधा सम्पन्न अस्पताल पठाइएको छ । यसअघि सोमबार एकैदिन प्रसव व्यथाले स्वास्थ्यमा गम्भीर समस्या देखिएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी २३ वर्षीया दीपा आचार्य, सोही स्थानकी २४ वर्षीया मेनुका खड्का र साकेला गाउँपालिका–५ मात्तिमकी २४ वर्षीया सुनिता राईलाई उद्धार गरिएको थियो ।
