
खोटाङ कार्तिक २६ : उपभोक्ता समितिको सहजताको लागि खोटाङको केपिलासगढी गाउँपालिकाले अभिमुखिकरण तालिम प्रदान गर्न सुरु गरेको छ । हिजो देखि गाउँपालिकाको वडा नम्बर १ फेदिबाट सुरु भएको तालिम आज (शुक्रबार) खार्ताम्छामा प्रदान गरिएको गाउँपालिकाका प्रशासन प्रमुख सौधन राई (युनिक साम्पाङ)ले जानकारी दिनुभयो ।
राईका अनुसार बिगतका बर्षमा उपभोक्त समितिमा रहेका ब्यक्तिहरुलाई सबै ज्ञान नहुँदा उनिहरुले सास्ती खेप्नु परेको थियो । चालु आर्थीक बर्ष २०७८÷०७९मा उपभोक्ता समितिबाट सञ्चालन हुने योजनाहरुको सहजताको लागि वडागत रुपमा समितिका पदाधिकारीहरुलाई अभिमुखिकरण तालिम प्रदान गर्न सुरु गरिएको उहाँले बताउनु भयो । तालिम पश्चात उपभोक्ता समितिहरुले हरेक योजना उत्कृष्टको साथ सम्पन्न गर्ने बिश्वास गाउँपालिकाले लिएको पनि उहाँको भनाई छ ।
योजना सम्झौता कसरी गर्ने, खाता सञ्चालन कसरी गर्ने, माईन्युट, सिफारिस र निवेदन कसरी लेख्ने लगाएतको बिषयमा गाउँपालिकाका कर्मचारीले अभिमुखिकरण तालिम प्रदान गरिरहेको प्रशासन प्रमुख राईले बताउनु भयो ।

