
खोटाङ कार्तिक ५ : नेपाली कांग्रेसको खोटाङ जिल्ला सभापतिका आकंक्षी ४ जना मध्ये पुर्व राज्यमन्त्री सर्वधन राई र महाधिवेशन प्रतिनिध एवं दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राई मिलेर जाने भएका छन । नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तरगत खोटाङमा भोली हुने जिल्ला अधिवेशनमा दुई समुह मिलेर जाने सहमति भएको हो ।
यस अघि दुई जनाले नै सभापतिमा उठ्ने घोषणा गरेपनि अधिवेशन हुन एक दिन बाकी रहदा भुपेन्द्रले सर्वधनलाई सघाउँने सहमती भएको नेता मनोज तिमिल्सीनाले जानकारी दिनुभयो । सभापतिमा पुर्व राज्यमन्त्री राई हुनुहुने छ भने अन्य पदाधिकारीमा दुवै समुहलाई मिलाएर लाने सहमती भएको उहाँको भनाई छ । यद्यपी को कुन पदमा उम्मेद्वार बन्ने बिषयमा छलफल भईरहेको छ । यसअघि राज्यमन्त्री राईको समुहबाट उपसभापतिमा मनोज तिमिल्सीना र सचिवमा रोजन राईले उम्मेद्वारी दिनु भएको छ । यस्तै महाधिवेशन प्रतिनिधि राईको समुहबाट उपसभापतिमा चन्द्रबहादुर थापा र सह–सचिवमा ध्यानबहादुर राईले उम्मेद्वारी घोषणा गर्नु भएको थियो ।
यस्तै जिल्ला अधिवेशनका लागि पुर्व पार्टी सभापति एवं महासमिति सदस्य बिष्णु कुमार राईले यसअघिनै पुरै समुह सहित सभापतिमा उम्मेद्वारी घोषणा गरिसक्नु भएको छ । राईको समूहबाट उपसभापतिमा इवन राई र तीर्थराज भट्टराई, सचिवमा ज्ञानेन्द्र जोशी र समीर राई उम्मेद्वार रहनुभएको छ । यस्तै सह–सचिवमा सार्जन राई र शालिकराम बञ्जारा रहनु भएको छ । यो समुहलाई पुर्व पार्टी सभापति नरेश कुमार श्रेष्ठ र महासमिति सदस्य सुबास पोखरेलको पनि साथ रहेको छ ।
यस्तै जिल्ला सभापतिका अर्का उम्मेद्वार महासमिति सदस्य रविप्रकाश राई पनि बिष्णु कुमार राईको समुहसँग मिलेर जान सक्ने श्रोतले बताएको छ । पुर्व राज्यमन्त्री सर्वधन र महाधिवेशन प्रतिनिधि भुपेन्द्र मिलेर जाने भएपछि समुह नबनाई सभापतिमा आफ्नो उम्मेद्वारी दिनु भएका रविप्रकाश पनि बिष्णु कुमारको समुहसँग मिलेर जान सक्ने आकलन गरिएको छ ।
नेपाली कांग्रेसको ७ औ जिल्ला अधिवेशन भोली सदरमुकाम दिक्तेलमा हुँदैछ । यसअघि चार जना सभापतिका आकंक्षी रहेपनि दुई÷दुई जना मिलेर जाने संकेतले अधिवेशन रोचक हुने नेताहरुले बताएका छन ।
