Thursday, April 16News That Matters

कांग्रेस खोटाङ अधिवेशन रोचक मोडमा, सभापतिमा बिष्णु र सर्वधन भिड्दै

खोटाङ मंसिर ६ : नेपाली कांग्रेसको १४ औ माहाधिवेशन अन्तरगत खोटाङ जिल्लाको अधिवेश सुरु भएको छ । वडा, पालिका र प्रदेश सभा अधिवेशन सम्पन्न पश्चात सदरमुकाम दिक्तेलमा आजबाट जिल्ला अधिवेशन सुरु भएको हो ।

यस अघि जिल्ला सभापतिमा चार जना आकंक्षी देखिएपनि अन्तीममा दुई समुह भएर चुनावी मैदानमा जाने भएका छन । आज भएको उम्मेद्वार मनोनयन दर्ता अनुसार दुई समुह चुनावी मैदानमा जाने पक्का भएको हो । यद्यपी उम्मेद्वारको अन्तीम नामवली भने सार्वजनिक हुन बाकी छ । मनोनय दर्ता अनुसार जिल्ला सभापतिको लागि पुर्व पार्टी सभापति एवं महासमिति सदस्य बिष्णु कुमार राई र पुर्व राज्यमन्त्री सर्वधन राई बिच प्रतिस्पर्दा हुने पक्का भएको हो ।

यस अधि महासमिति सदस्य रवि प्रकाश राई र महाधिवेशन प्रतिनिधि एवं दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राईले सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेपनि अन्तीममा पुर्व राज्यमन्त्री राईसँग मिलेर जाने सहमती भएको छ । राईको समुहबाट उपसभापतिमा मनोज तिमिल्सीना र राजन सैजु रहनु भएको छ । यस्तै सचिवमा रोजन राई र राम साम्पाङ राई रहनु भएको । सह–सचिवमा ध्यान बहादुर राई र राजकुमार राई को उम्मेद्वारी रहेको छ ।

यता पुर्व सभापति बिष्णु राईको समुह यस अघिनै फाईनल भईसकेको छ । राईको समूहबाट उपसभापतिमा इवन राई र तीर्थराज भट्टराई, सचिवमा ज्ञानेन्द्र जोशी र समीर राई उम्मेद्वार रहनुभएको छ । यस्तै सह–सचिवमा सार्जन राई र शालिकराम बञ्जारा रहनु भएको छ । यो समुहलाई पुर्व पार्टी सभापति नरेश कुमार श्रेष्ठ र महासमिति सदस्य सुबास पोखरेलको पनि साथ रहेको छ ।

शनिबार सम्पन्न प्रदेश सभा अधिवेशनमा दुवै प्रदेश सभामा बिष्णु राईको समुह बिजयी भएको थियो । जसबाट जिल्ला सभापतिमा आकंक्षी चार जना मध्ये बिष्णु राईकोे समुह बलियो देखिएको छ । तर जिल्ला अधिवेशनमा सभापतिका आकंक्षी तीन जनाले एउटै समुह बनाएपछि अधिवेशन रोचक मोडमा पुगेको छ ।

नेपाली कांग्रेसको जिल्ला कार्यसमितिका लागी मतदान सदरमुकाम दित्तेलमा भोली बिहान ७ बजेबाट सुरु हुने कार्यतालिका रहेको जिल्ला निर्वाचन अधिकृत शंकर भट्टराईले जानकारी दिनुभयो ।