०८ मंसिर, खोटाङ । जिल्ला अदालत खोटाङले चालु आर्थिक वर्ष २०७८/०७९ को चार महिनामा ५१ वटा मुद्दाको फैसला गरेको छ । एक आर्थिक वर्षभित्र २४१ वटा मुद्दा फस्र्यौट गर्ने लक्ष्य लिएको अदालतले चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म विभिन्न प्रकृतिका ५१ मुद्दा किनारा लगाएको हो ।
अदालतका नायब सुब्बा बाबुराम बस्नेतका अनुसार एक आर्थिक वर्षभित्र २८८ वटा मुद्दा दर्ता हुने अनुमान गरिएकोमा गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका १२९ वटा र नयाँ ९३ वटा गरी यस अवधिमा २२२ वटा मुद्दा दर्ता भएका छन् । दुनियावादी देवानी १२० मध्ये ३५ वटा, सरकारवादी फौजदारी ८८ मध्ये १४ वटा र दुनियावादी फौजदारी १४ मध्ये २ वटा मुद्दाको फैसला भएको र बाँकी प्रक्रियामा रहेको नासु बस्नेतले जानकारी दिनुभयो ।
अदालतले हालसम्म वार्षिक लक्ष्यको २१ दशलमव १६ प्रतिशत मुद्दा फस्र्यौट गरिसकेको छ । १७१ वटा मुद्दा चालुु अवस्थामा रहेको अदालतले जनाएको छ । १ वर्षभित्रको १५७ वटा, १ वर्ष नाघेको १२ वटा र दुई वर्ष नाघेको २ वटा मुद्दा फस्र्यौट हुन बाँकी छ । दोस्रो लहरको कोरोना महामारीका कारण स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको समयमा अदालतको नियमित कामकाज रोकिँदा अपेक्षितभन्दा मुुद्दा फस्र्यौट कम भएको नासु बस्नेतको भनाइ छ ।
यस्तै जिल्ला अदालतले यस अवधिमा दोषीहरूबाट ३५ हजार जरिवाना असुल गरेको छ । विभिन्न मुद्दामा जिल्ला अदालतबाट कैद तथा जरिवाना तोकिएकाहरूबाट २ करोड ५ लाख ५ हजार ६ सय ३८ रुपैयाँ ४५ पैसा जरिवाना उठ्नुपर्नेमा हालसम्म ३५ हजार जरिवाना असुल भएको हो । अझै २ करोड ४ लाख ७० हजार ६ सय ३८ रुपैयाँ ४५ पैसा जरिवाना उठ्न बाँकी रहेको अदालतले जनाएको छ ।
यसैगरी जिल्ला अदालतले उक्त अवधिमा विभिन्न दोषीबाट २९ वर्ष १ महिना १४ दिन कैद भुक्तान गरेको छ । ७९८ वर्ष ११ महिना २५ दिन कैदमध्ये अझै ७६९ वर्ष १० महिना ११ दिन कैद भुक्तान हुन बाँकी रहेको अदालतले जनाएको छ ।
