Thursday, April 16News That Matters

विपन्न र दीर्घरोगीको साहारा बन्दै जनप्रतिनिधि

खोटाङ मंसिर ९ : जिल्लाको बराहपोखरी गाउँपालिका–३ साउनेचौरका जनप्रतिनिधि विपन्न र दीर्घरोगीको साहारा बनेका छन । उनिहरुले वडा कार्यलयबाट बजेट बिनियोजन गरेर वडा भित्रका विपन्न परिवार र दीर्घरोगीको निशुल्क स्वास्थ्य बिमा गरिदिएका छन ।

आर्थीक बर्ष २०७६\७७ बाट सुरु भएको उक्त कार्यक्रमबाट अहिलेसम्म वडा भित्रका ६७ जना विपन्न परिवार र दीर्घरोगीको निशुल्क स्वास्थ्य बिमा गरिएको वडाध्यक्ष शम्भु निरौलाले जानकारी दिनुभयो । यस्तै वडा क्षेत्रमा कार्यरत १५ जना स्वयंसेविकाको पनि वडा कार्यालयले ५० प्रतिशत रकम बेहोरेर स्वास्थ्य बीमा गराएको उहाँको भनाई छ ।

वडाध्यक्ष निरौलाले भन्नु भयो, “२०७४ सालमा सम्पन्न स्थानीय तहको चुनावबाट वडाको नेतृत्व गर्न नागरिकले हामीलाई जिताएर पठाए, त्यसबेला हामीले जितेका मात्र थिएनौँ कि हाम्रो काधमा ठुलो जिम्मेवारी पनि आएको थियो” । सोहि अनुसार वडाको बिभिन्न क्षेत्रमा निरन्तर विकास गरिरहेको उहाँको भनाई छ । निरौलाले थप्नु भयो, “सडकको ट्रयाक खोल्नु, नयाँ नयाँ भवनहरु बनाउनु मात्र हाम्रो जिम्मेवारी हैनरहेछ कि उपचारको लागी रकम अभावको कारण कयौँ व्यक्तिले ज्यान गुमाईरहेको हामीले आँखै अगाडि देखिरहेका छौँ ।” त्यसैले रकम अभावकै कारण उपचार गर्न नसकेर आफ्नो वडा भित्रका नागरिकको मृत्यु नहोस भनेर विपन्न परिवार र दीर्घरोगीको निशुल्क बिमा गरिदिएको वडाध्यक्ष निरौलाले बताउनु भयो ।

जिल्ला सदरमुकाम पुग्न हिडेर दुई दिन र गाडीमा एक दिन लाग्छ । त्यसैले नागरिकले सास्ती खेप्न नपरोस भनेर वडा सदस्य राजकुमार मगरले आफैले बीमा गराई कार्ड विपन्न परिवार र दीर्घरोगीकोको हातमा थमाएको बताउनु भयो ।

बराहपोखरी गाउँपालिका–३ साउनेचौरकी निर्मला तामाङका श्रीमान बिनोद राईको मुटुमा भल्भ राखिएको छ । श्रीमानलाई बेलाबेला अस्पताल लगिरहनु पर्ने र औषधी खाईरहनु पर्ने हुन्छ । जसकारण परिवार साहुको ऋणमा डुबिसकेको निर्मला बताउनु हुन्छ । तर अब वडा कार्यलयले निशुल्क स्वास्थ्य बीमा गरिदिएपछि सहज हुने उहाँलाई बिश्वास छ । यस्तै सोहि गाउँका खबिन्द्र राई पनि लामो समय देखि टिबि रोगसँग जुधिरहनु भएको छ । वडाकार्यलयको उक्त सहयोगको कारण उहाँको मुहारमा पनि खुशी फर्किएको राई सुनाउनु हुन्छ ।

नेपालमा वि.स. २०७२ चैत २५ गतेदेखि स्वास्थ्य बीमा कैलालीबाट सुरु भएको हो । स्वास्थ्य बीमा कार्यक्रममा सदस्य बनेका नागरिकले पाँच जनासम्मको परिवारका लागि वर्षको रु २५ सय तिरेर सदस्य बन्न पाउँने व्यवस्था रहेको छ । स्वास्थ्य बीमा कार्यक्रमबाट बहिरङ्ग, अन्तरङ्ग र आकस्मिक सेवा कार्यक्रमले तोकेका निदानात्मक र परीक्षण सेवा र औषधि अन्तरङ्ग सेवातर्फ परीक्षण, एक्सरेलगायतका सेवा सुविधा बीमा गर्ने व्यक्ति÷परिवारले पाउँछन् । यस्तै ५३० प्रकारका औषधि पनि यसैभित्र पर्ने छ ।