Thursday, April 16News That Matters

आफ्नै भवन नहुँदा साँगुरो भवनमा कोचिएर बस्न बाध्य सोलुखुम्बु सशस्त्र प्रहरी

हाल सशस्त्र प्रहरी बस्दै आएको भवन, तस्विर : सुबास दर्नाल

सुबास दर्नाल

सोलुखुम्बु मंसिर ११ : सशस्त्र प्रहरी बल नेपाल गुल्म सोलुखुम्बु(एपिएफ)लाई आफ्नै भवन नहुँदा समस्या भएको छ । करिब ४ बर्ष अघि जिल्लामा स्थापना भएको सशस्त्र प्रहरीको आफ्नै भवन नहुँदा सोलुदुधकुण्ड नगरपालिका ६ दोर्पु स्थित तत्कालिन महिला विकास समितिको साँगुरो भवनमा कोचिएर बस्नुपरेको जनाइएको छ ।

सोलुखुम्बुमा वि.स २०७४ सालमा निर्वाचन सुरक्षा बेस हुँदै हाल गुल्मको रुपमा खडा भएको सशस्त्र बल नेपाल गुल्म सोलुखुम्बुले जनाएको छ । सुरुवातमा सल्लेरी स्थित कर्भड हलमा बसेको सशस्त्र प्रहरी करिब ३ बर्ष अघि दोर्पु स्थित तत्कालिन महिला विकास समितिले एक रोपनी जग्गामा निर्माण गरेको भवनमा सरेका थिए ।

तर मापदण्ड अनुसार भवन तथा जमिन नहुँदा दैनिक कार्यलाई सागँुरो क्षेत्रमा खुम्च्याउनु परेकोे सशस्त्र प्रहरीका डिएसपी दिनेश शर्माले बताउँनुभयो । उहाँका अनुसार मापदण्ड अनुसार कम्प्तीमा १५ रोपनी जग्गा आवश्यक पर्ने भएपनि हाल एक रोपनी जग्गामा खुम्चिएर बस्न बाध्य छन् ।

वि.सं २०७५ मा स्थापना भएको उक्त गुल्ममा कुल दरबन्दी १२० जना कायम भए पनि ठाउँ अभावका तथा दरबन्दी ब्यवस्थापन गर्न नसक्दा हाल करिब ७० जना मात्रै रहेको कार्यालयले जनाएको छ । जिल्ला विपद् प्रतिकार्यदेखि शान्ति सुरक्षाका अधिकांश कार्यमा सशस्त्र प्रहरी सकृय रुपमा खटिँदै आए पनि आफ्नो भवन नहुँदा उनीहरुलाई दैनिक कार्यसम्पादनमा समस्या हुँदै आएको बताइएको छ ।

आफ्नो भवन नभएका कारण गुल्मले सशस्त्र प्रहरीका लागि सञ्चालन गर्ने आन्तरिक तालिमदेखि अन्य पिटी, परेडसम्म गर्न समस्या भएको डिएसपी शर्माले बताउँनुभयो ।

किन बन्न सकेन सोलुखुम्बु सशस्त्र प्रहरीको भवन ?

अधिकांश सरकारी कार्यालयहरुको भवन निर्माण गर्दा नेपाल सरकारले जग्गा खरिदका लागि बजेट व्यवस्थापन गरेको उदाहरण कमै मात्रामा छ । पहिलो नम्बरमा स्थानीयबाट निशुल्क जग्गा उपलब्ध गराउने र त्यो सम्भवन भएन भने मात्रै अत्यन्त कम मुल्यमा पायक पर्ने स्थानमा जग्गा खरिद गर्ने ब्यवस्था छ ।

सशस्त्र प्रहरीको मापदण्ड अनुसार भवन तथा प्रहरीलाई आवश्यक अन्य संरचना निर्माण गर्न कम्तीमा १५ रोपनी जग्गा आवश्यक पर्दछ । तर सोलुखुम्बु सशस्त्र प्रहरीको सवालमा २\४ रोपनी जग्गा निशुल्क उपलब्ध गराउने स्थानीय भएपनि प्रहरीलाई त्यो पर्याप्त भएन ।

कम्पतीमा १५ रोपनी जग्गा आवश्यक पर्ने प्रहरीलाई २\४ रोपनीले नहुँने हुँदा समस्या भएको हो । दोश्रोमा प्रधान कार्यालयको निति अनुसार अत्यन्त कम मुल्यमा पायक पर्ने स्थानमा जग्गा उपलब्ध नहुँदा समस्या भएको बुझिएको छ ।

भवन निर्माणका लागि प्रधान कार्यालयले बजेट ब्यवस्थापन गर्ने भएपनि जग्गा नै उपलब्ध हुन नसक्दा नागरिकको जिउधनको सुरक्षामा तल्लिन सशस्त्र प्रहरी साँगुरो ठाउँमा बस्न बाध्य छन् । यद्यपी जिल्ला सुरक्षा समितिले छलफल गरि जग्गा तथा भवन ब्यवस्थापनका लागि प्रधान कार्यालयलाई पत्रचार भने गरिसकेको छ ।