
१४ मंसिर, खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले आफ्नै प्रशासनिक भवनबाट सेवा दिन सुरु गरेको छ । यसअघि वडा नं. ४, तत्कालीन बाक्सिला गा.वि.स. र पृथ्वी मा.वि. को जीर्ण भवन मर्मत गरी सेवा प्रवाह गर्दै आएको गाउँपालिकाले सोमबारदेखि आफ्नै भवनबाट सेवा सुरु गरेको हो ।
बहुवर्षीय योजना अन्तर्गत निर्माण सम्पन्न भएको भवनको गाउँपालिका अध्यक्ष कृष्णकुमार राई र उपाध्यक्ष हिराकुमारी वन (गिरी) ले सोमबार संयुक्त रूपमा रिबन काटेर उद्घाटन गर्नुभएको छ ।

रु. १ करोड ८० लाख लागतमा निर्माण सम्पन्न भएको भवनमा सभाहलसहित १३ वटा प्रशासनिक कोठाहरू छन् । एकद्वार प्रणाली लागु गर्दै विषयगत सबै शाखा, उपशाखाहरू नयाँ भवनमा समेटिएको छ ।
नागरिकले इच्छाएको सेवालाई नयाँ भवनबाट अझ प्रभावकारी ढंगले प्रवाह गरिने गाउँपालिकाले जनाएको छ । सुविधा सम्पन्न नयाँ प्रशासनिक भवनबाट सेवा दिन पाउँदा उत्प्रेरणा बढेको गाउँपालिकाका कर्मचारीले बताएका छन् ।
