
मङ्सिर १५ : सोलुखुम्बुको सल्लेरीमा रिपोटिङका क्रममा संचारकर्मीमाथि हातपात भएको घटना प्रति विभिन्न संघसंगठनले आपत्ति जनाउँदै विज्ञप्ती जारी गरेका छन् । घटनाको विषयमा सत्यतथ्य छानविन गरि दोषीलाई कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघ, नेपाल पत्रकार महासंघ प्रदेश १ शाखा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा सोलुखुम्बु लगाएतले विज्ञप्ती जारी गरेका हुन् ।
नेपाली कांग्रेसको जिल्ला कार्यसमिति सभापतिका लागि मंगलबार सम्पन्न दोस्रो चरणको निर्वाचनमा रिपोटिङमा गएका सोलु एफ.एम.कर्मी सुवास दर्नाल र सोलु एफ.एम.मै कार्यरत रमन वन माथि हातपात भएको थियो । पीडित पत्रकारले जाहेरी दरखास्त दिएको बताएका छन् ।
हातपात गर्नेहरुमा नेपाल विद्यार्थी संघका जिल्ला उपाध्यक्ष जीवन बस्नेत, क्षेत्रीय प्रतिनिधि प्रदिप बस्नेत, नेविसंघ माप्यदुधकोशी अध्यक्ष विभुषण राईको समुह रहेको पत्रकार दर्नालले बताउनुभयो ।
मतगणना स्थल बाहिर स्थलगत रिपोटिङमा रहेका सञ्चारकर्मीमाथी आफ्नो अन्तरवार्ता लिन धम्की दिदै आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् । आक्रमणबाट रिपोटिङमा प्रयोग गरिएको माईक, रेकर्डर सहितका सामाग्रीमा समेत क्षति पुगेको छ । यस्ता घ्रिनित कार्यलले समाज रुपमान्तरण हुन नसक्ने बरु अराजकता बढ्दै जाने भएकाले दोषीलाई चाडै कानुनी दायरामा ल्याउनुपर्ने पत्रकार महासंघ जिल्ला शाखा सोलुखुम्बुका अध्यक्ष नुतन श्रेष्ठले बताउनुभयो ।
रिपोटिङको क्रममा पत्रकार माथि यसरी आक्रमण भएको जिल्लामा पहिलो घटना हो । यता जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले भने दोषि उपर कानुनी कार्वाहीको प्रक्रिया तत्काल अघि बढाउने जनाएको छ ।
नेपालको संविधान २०७२ को भाग ३ धारा १९ ले पुर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूत गरेको छ । नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता वा संघीय इकाइबीचको सु–सम्बन्ध वा विभिन्न जात, जाति, धर्म वा सम्प्रदाय बीचको सु–सम्बन्धमा खलल पर्ने, राज्यद्रोह, गाली बेइज्जती वा अदालतको अवहेलना हुने वा अपराध गर्न दुरुत्साहन गर्ने वा सार्वजनिक शिष्टाचार, नैतिकताको प्रतिकूल कार्य गर्ने, श्रमप्रति अवहेलना गर्ने र जातीय छुवाछूत एवं लैंगिक भेदभावलाई दुरुत्साहन गर्ने कार्यमा मनासिब प्रतिबन्ध लगाउने गरी बाहेक विद्युतीय प्रकाशन, प्रसारण तथा छापा लगायतका जुनसुकै माध्यमबाट कुनै समाचार, सम्पादकीय, लेख, रचना वा अन्य कुनै पाठ्य, श्रव्य, श्रव्यदृश्य सामग्रीको प्रकाशन तथा प्रसारण गर्न वा सूचना प्रवाह गर्न वा छाप्न पूर्व प्रतिबन्ध नलगाइने प्रष्टरुपमा उल्लेख छ ।


