
खोटाङ मङ्सिर १६ : खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले भोली एक दिन सार्वजनिक बिदा दिने भएको छ । बालाचतुर्दशीकाको अवसरमा भोली नगरपालिकाको वडा नम्बर ७ स्थीत सुप्रशिद्ध त्रिधार्मिक तपोभूमी हलेसीमा बृहत मेला लाग्ने भएको हुँला नगरपालिकाले एक दिन (शुक्रबार) सार्वजनिक बिदा दिएको सूचना जारी गरेर जानकारी दिएको छ ।
कोरोनाका कारण दुई बर्ष यता लाग्न नसकेको मेला यो बर्ष भब्यताका साथ लाग्ने तयारीमा छ । धार्मिक तथा सांस्कृतिकरुपले प्रसिद्ध मानिने तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । हलेसीमा महादेवगुफा, पापद्वार, धर्मद्वार, भैरवगुफा, बसाहागुफालगायत अवलोकन गर्न र पूजाआजा गर्न भक्तजन आउने गरेका छन ।
हलेसीमा रामनवमी, शिवरात्रि, बालाचतुर्दशी, तीज, साउनको सोमबार लगायत पर्वमा ठूलो मेला लाग्ने गरेको छ । हलेसीमा सबै भन्दा लामो मेला रामनवमीमा १५ दिन सम्म लाग्ने गरेको छ । हलेसीमा नेपालका बिभिन्न जिल्लासँगै भारत, बंगलादेश, भुटान लगाएतका देशबाट पनि भक्तजनहरु आउने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हर्कराज राईले बताउनु भयो । तर कोरोनाको त्रासका कारण यो बर्षको बालाचतुर्दशीको अवसरमा लागिरहेको मेलामा बाहिर देशबाट भक्तजन आएका छैनन् ।
यतिबेला बिभिन्न जिल्लाबाट ब्यापर र दर्सनका लागी आएका मानिसहरुले मन्दिर वरीपरि भिड लागेको छ । बिशेष गरी बालाचतुर्दशीको दिन बिहान पितृको नाममा सत्तेबिउ पलबिउ छर्ने र राती जागराम बस्ने चलन रहेको छ ।
गुफामा हिन्दु, बौद्ध र किरात धर्म मान्नेहरु आ–आफ्नै तरीकाले पुजापाठ गर्ने गर्छन । जुन दृश्य सबैका लागी रोचक लाग्ने गर्छ । हिन्दु धर्ममा आस्था राख्नेहरुले यसलाई पशुपतिनाथको रुपमा, बौद्ध धर्मावलम्बीहरु दोस्रो लुम्बिनीको रुपमा र किरात धर्मावलम्बीहरुले आदिम भूमीको रुपमा पूजा–आजा गर्ने गरेका छन ।


