
२३ मंसिर, खोटाङ । खोटाङमा प्रसूति व्यथाले गम्भीर एक गर्भवतीको निःशुल्क हवाइ उद्धार गरिएको छ । जिल्लाको खोटेहाङ गाउँपालिका–३ सावाकटहरेकी १८ वर्षीया मेनुका विष्टको राष्ट्रपति महिला उत्थान कार्यक्रमको हेलिकोप्टरमार्फत उद्धार गरी सुविधा सम्पन्न अस्पताल पठाइएको हो ।
प्रसूति व्यथा लागेपछि स्वास्थ्य जाँचका लागि उहाँलाई स्वास्थ्य चौकी, सावाकटहरे लगिएको थियो । जाँचका क्रममा उहाँमा उच्च रक्तचाप तथा कम्पनको समस्या इक्लामसिया देखिएको स्वास्थ्य चौकी प्रमुख रामकुमार मग्रातीले बताउनुभयो । स्वास्थ्य अवस्था थप जटिल बनेपछि त्यहाँ उपचार सम्भव नहुने जनाउँदै स्वास्थ्य चौकीले उद्धारका लागि गरेको आग्रह अनुसार खोटेहाङ गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको थियो ।
जिल्ला प्रशासन कार्यालयले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाइ सिंहदरवारलाई हेलिकोप्टरको व्यवस्थाका लागि सिफारिस गरेको थियो । प्रशासनको सिफारिसका आधारमा मन्त्रालयले हेलिकोप्टर व्यवस्था गरेपछि उहाँको आज सावाकटहरेबाट उद्धार गरी काठमाडौँ पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्लामा गत आइतबार पनि सुत्केरी व्यथाले स्वास्थ्य अवस्था गम्भीर बनेकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ की ३० वर्षीया शान्ता वि.क.को राष्ट्रपति महिला उत्थान कार्यक्रमको हेलिकोप्टरबाट उद्धार गरिएको थियो ।
जिल्लामा राष्ट्रपति महिला उत्थान कार्यक्रमको प्रभावकारिता बढ्दै गएको छ । कार्यक्रममार्फत प्रसूति व्यथाले गम्भीर दर्जनौँ गर्भवतीको उद्धार भइसकेको छ ।
