Thursday, April 16News That Matters

खोटाङ बन्यो कोरोना भाइरस (कोभिड–१९) संक्रमण मुक्त जिल्ला

खोटाङ, मङ्सिर २३ । खोटाङ कोरोना भाइरस (कोभिड–१९) संक्रमण मुक्त जिल्ला बनेको छ । हिजो सम्म एक जना संक्रमित रहेकोमा आज उक्त संक्रमित निको भएसँगै खोटाङ कोरोना भाइरस संक्रमण मुक्त जिल्ला बनेको हो ।

आज जिल्लाका बिभिन्न ठाउँमा १५ जना संकास्पद ब्यक्तिमा एन्टीजेन परिक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको जिल्ला स्वास्थ्य कार्यलय खोटाङले जनाएको छ । जिल्लामा अहिले सम्म ३ हजार ५७ जनामा कोरोना भाइरस पुष्टि भएको छ भने संक्रमण कारण १५ जनाको ज्यान गएको छ ।

जिल्ला संक्रमण मुक्त भएपनि नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भित्रिएको कारण सबैले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख पुण्य प्रसाद सिक्देलले अनुरोध गर्नुभएको छ । 

जिल्लामा कोरोना विरुद्धको खोपप्रति आकर्षण बढ्यो

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको त्रासले खोटाङमा कोरोना विरुद्धको खोपप्रति आकर्षण बढेको छ । जिल्लाका १० वटै पालिकामा यतिबेला कोरोना विरुद्धको कोभिशिल्ड र एस्ट्राजेनिका गरी दुई प्रकारका खोप सञ्चालन भईरहेका छन ।

यसअघि खोप लगाउन नागरिकलाई कर गर्नु पर्ने हुन्थ्यो, तर अहिले खोप लगाउनेहरूको उत्साहजनक सहभागिता पाइएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिनुभयो ।