Thursday, April 16News That Matters

हिंसा पीडितलाई दिक्तेल रुपाकोट मझुवागढीको आर्थिक सहयोग

२४ मंसिर, खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले हिंसा पीडित तीन महिला र एक पुरुषलाई आर्थिक सहयोग गरेको छ । ७३ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा महिला हिंसा विरुद्धको १६ दिने अभियानको समापनका अवसरमा आज जिल्ला समन्वय समितिको समीक्षालय हलमा आयोजित कार्यक्रमकाबीच नगरपालिकाले उनीहरूलाई जनही २० हजार नगद प्रदान गरेको हो । नगरपालिकाको आर्थिक सहयोग पाउनेमा हिंसा पीडित एकल महिलाहरू वडा नं १ दिक्तेलकी हर्किमाया बस्नेत, सोही स्थानकी हरिमाया सुन्दास, हिंसा पीडित वडा नं. २ सोल्माकी टिकादेवी पुरी र वडा नं. ६ नेर्पाका हिंसा पीडित एकल पुरुष नरबहादुर गुरुङ रहनुभएको छ ।

हिंसा पीडितको जीवीकोपार्जनमा टेवा पु-याउने उद्देश्यले आर्थिक सहयोग गरिएको नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख मन्दिरा घिमिरेले जानकारी दिनुभयो ।

पीडितरूलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सांसद विशाल भट्टराईले नगद हस्तान्तरण गर्नुभएको छ ।

अलपत्र हिंसा पीडित महिलालाई आवास
यस्तै घर नभएर अलपत्र अवस्थामा रहेकी हिंसा पीडित महिलाका लागि नगरपालिकाले घर बनाइदिएको छ । उपप्रमुखसँग महिला कार्यक्रम अन्तर्गतको बजेटबाट नगरपालिकाले वडा नं. ६ नेर्पाकी अम्बिका आचार्यलाई वडा नं. १ दिक्तेलमा घर निर्माण गरिदिएको हो ।

घर निर्माणका लागि निःशुल्क जग्गा प्रदान गर्ने दिक्तेलका तारानाथ फुयाँललाई सोही कार्यक्रममा कदर पत्रसहित सम्मान गरिएको छ ।

सिँचाइ गेट चोक अब मानव अधिकार चोक
यसैबीच नगरपालिकाको वडा नं. १ दिक्तेलबजारस्थित सिँचाइ गेट चोकलाई मानव अधिकार चोक नामकरण गरिएको छ । नगरको निर्णय अनुसार आज सोही कार्यक्रममा सिँचाइ गेट चोकको नाम अबदेखि मानव अधिकार चोक रहने घोषणा गरिएको हो ।

कार्यक्रममा संघीय सांसद भट्टराईसहित नगरपालिकाका मेयर दीपनारायण रिजाल, उपमेयर वीणादेवी राई, मानव अधिकार आयोग प्रदेश १ शाखा कार्यालय खोटाङका प्रमुख श्यामबाबु काफ्ले, राजनीतिक दल, सरकारी तथा गैररसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।