
खोटाङ, मङ्सिर २४ । खोटाङको वराहपोखरी गाउँपालिका–६ मौवाबोटेमा राष्ट्रिय प्रसारण लाइनको विद्युत विस्तार भएको छ । प्रदेश १ सरकार, वराहपोखरी गाउँपालिका र वडा कार्यालय मौवाबोटेको १ करोड ५० लाख बजेटमा वडामा राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेको हो । विद्युतको आज वडा कार्यालयमा आयोजित कार्यक्रमकाबीच खोटाङ प्रदेशसभा ‘ख’ का सांसद रामकुमार राई ‘पासाङ’ ले उद्घाटन गर्नुभएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सांसद राईले वराहपोखरी र उदयपुरको चौदण्डीगढी नगरपालिका जोड्ने बङ्सिलाघाटमा चालु आर्थिक वर्षभित्रै पक्की पुल निर्माण गरिने बताउनुभयो ।
प्रक्रिया थालेको डेढ वर्षपछि वडाका ६० प्रतिशत भू–भागमा बिजुली बलेको वडाध्यक्ष दुर्गाबहादुर राईले बताउनुभयो ।
टेण्डर प्रक्रियामा सामग्री खरिद गरी स्थानीयको जनश्रमदानबाट वडाका करिब १ सय ५० घरधुरीमा बिजुली बाल्न सफल भएको वडाध्यक्ष राईको भनाइ छ । बिजुली पुग्न बाँकी स्थानमा पनि चाँडै विद्युत जोडिने उहाँले बताउनुभयो ।
लामो समयको प्रतीक्षापछि मौवाबोटेमा बिजुुली बलेसँगै स्थानीयबासीमाा खुशी छाएको छ । विद्युत नपुग्दा वडा कार्यालयको काममा समस्या हुने गरेको थियो भने स्थनीयबासी वर्षौँदेखि सोलार बत्ती प्रयोग गर्न बाध्य थिए ।
विद्युत उद्घाटन कार्यक्रममा प्रदेश सांसद राईसहित वराहपोखरी गाउँपालिका अध्यक्ष शालिकराम बञ्जारा, उपाध्यक्ष गोमा मगरलगायतको उपस्थिति रहेको थियो ।
