Thursday, April 16News That Matters

फोक्सिंटारमा बेलिब्रिज जडान, पक्की पुल निर्माण कछुवाको गतिमा

फोक्सिंटारमा निर्माण गरिएको बेलिब्रिज

खोटाङ, पुष १ । दिक्तेल–गाईघाट सडकखण्ड अन्तर्गत उदयपुर र खोटाङको सिमाना फोक्सिंटारस्थित सुनकोशी नदीमा अस्थायी बेलिब्रिज सञ्चालनमा आएको छ । बर्सेनि बर्खाको समयमा निकाल्ने गरिएको अस्थायी बेलिब्रिज जडानपछि आजदेखि दुईतर्फी यातायात सञ्चालनमा आएको हो ।

फोक्सिंटारमा स्थायी पुल नहुँदा विशेष गरी जिल्लाको दक्षिणी भेगका बासिन्दालाई तराई आवतजावत गर्न समस्या हँुदै आएको छ । अहिले भने स्थायी पुल निर्माणको काम पनि धमाधम भइरहेको छ । यद्यपी समयमै पक्की पुल निर्माणको काम नसकिँदा यो वर्ष पनि बेलिब्रिज जडान गरिएको छ ।

दिगो समयसम्मको लागि पक्की पुल बन्न नसक्दा बर्सेनि अस्थायी रूपमा गाईघाट– दिक्तेल सडक योजनाले फोक्सिंटारमा बेलिब्रिज जडान गर्दै आएको छ । हिउँदमा मात्रै सञ्चालन हुने यो पुल बर्खामा कोशीमा पानीको बहाब बढेसँगै हटाउने गरिएको छ । यो वर्षको लागि करिब ७८ लाख बजेटमा बेलिब्रिज जडानको कार्य सम्पन्न गरिएको गाईघाट–दिक्तेल सडक योजना कार्यलयका प्रमुख गोपालप्रसाद खकुरेलले जानकारी दिनुभयो ।

रेग्मी निर्माण सेवा गाईघाटले काम सकेपछि आजबाट पुल संञ्चालनमा आएको कार्यालयले जनाएको छ । बेलिब्रिज जडानसँगै जिल्लाबाट उदयपुरको गाइघाट हुँदै पूर्वी तराईका जिल्ला र राजधानी काठमाडौँ आवतजावत गर्न सहज भएको छ । फोक्सिंटारमा बर्सेनि अस्थायी पुल निर्माणले बजेट खर्च मात्रै बढाएको र स्थायी पक्की पुल नबन्दा यात्रुले सधैँ सास्ती खेप्नु परेको जिल्लाबासीको गुनासो छ ।

पक्की पुल निर्माणको लागि २०६९ चैत २३ गते सम्झौता भएको हो । तर पहिलो म्याद सकिएर पटक पटक म्याद थप्दा पनि अहिले सम्म ५० प्रतिशत पनि निर्माणको काम सकिएको छैन । २२ करोड ६७ लाख ११ हजार रुपैयाँमा पूरा गर्ने गरी गौरी–पार्वती वाइपी जेभीले पुल निर्माणको जिम्मा लिएर कछुवाको गतिमा काम गरिरहेको छ ।