
पौष ०१, खोटाङ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले खोटाङमा दुई दिने बिमा अभिकर्ता तथा क्षति मुल्याङ्कनकर्ता सम्बन्धी तालिम सञ्चालन गरेको छ । किसानलाई बाली तथा पशु बीमामा आकर्षित गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी उपशाखा खोटाङका बाबुराम आचार्यले जानकारी दिनुभयो ।
सदरमुकाम दिक्तेलस्थित होटल शुभदिनमा हिजो र आज सञ्चालन भएको तालिममा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रधान कार्यालय ज्ञानेश्वर काठमाडौँको सहायक महाप्रबन्धक नवराज तिमल्सिनाले सहजीकरण गर्नुभएको थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालकाको प्रमुख आतिथ्यता रहेको तालिममा पहिलो दिन हिजो ४० र दोस्रो दिन आज ३८ जना सहभागी भएका थिए ।
तालिमको अन्तिम दिन आज सहभागी विभिन्न पालिकाका पशुु तथा कृषि शाखामा कार्यरत कर्मचारी र स्थानीय कृषि पेशामा आबद्ध किसानमध्येका ३१ जनालाई बीमा अभिकर्ता र ७ जनालाई क्षति मूल्याङ्कनकर्ता तोकिएको छ ।
बीमा अभिकर्तालाई आफ्नो क्षेत्रका किसानलाई कृषि बीमा गर्दा हुने फाइदाबारे जानकारी गराउँदै त्यसतर्फ आकर्षित गर्ने विषयमा तालिम दिइएको छ । अभिकर्ताले विभिन्न प्रकोप तथा रोगबाट किसानले लगाएको अन्नबाली तथा पालेका पशुपक्षीमा हुने क्षति न्यूनीकरण तथा राहतका लागि बीमा आवश्यक रहेको जानकारी दिँदै बीमा गराउनेछन् ।
यस्तै क्षति मूल्याङ्कनकर्तालाई किसानले बीमा दाबीका लागि पेश गरेको विवरण सही भए नभएको मूल्यांकन गर्ने विषयमा तालिम दिइएको आचार्यले बताउनुभयो । कतिपय किसानले गलत विवरण पेश गरेर बीमा दाबी गर्ने अवस्था रहने गरेकाले वास्तविक विवरण मूल्यांकनका लागि क्षति मूल्याङ्कनकर्ता तोकिएको हो ।
