खोटाङ, पौष ०३ । नयाँ नेतृत्व चयनका लागि नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु खोटाङको २३ औँ जिल्ला सम्मेलन पुस १७ गते हुने भएको छ । एमाले खोटाङको पार्टी कार्यालय दिक्तेलमा आज (शनिबार) बसेको अनेरास्ववियुको छैटौँ पूर्ण बैठकले पुस १७ गते जिल्ला समन्वय समितिको समीक्षालय हलमा सम्मेलन गर्ने निर्णय गरेको हो ।
बैठकले जिल्ला सम्मेलनका लागि समिति पनि गठन गरेको छ । सम्मेलन मूल व्यवस्थापन समिति संयोजकमा खेमराज राई, आर्थिक व्यवस्थापन समिति संयोजकमा मोहन संग्राम र सम्मेलन प्रचारप्रसार समिति संयोजकमा विष्णु उपरकोटीलाई जिम्मेवारी दिइएको छ ।
सम्मेलनमा जिल्लाभरका करिब ५ सय विद्यार्थी सहभागी हुने अनेरास्ववियुले जनाएको छ ।
यस्तै बैठकले पुस ६ गते अनेरास्ववियु दिक्तेल बहुमुखी क्याम्पसको सम्मेलन गर्ने निर्णय गरेको छ ।
त्यसैगरी बैठकले पुस ५ गते कालोबजारी र शिक्षामा निजीकरण विरुद्ध तथा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाउनुपर्ने कार्यक्रम र विद्यार्थीलाई यातायातमा सहुलियतको लागि १० प्रतिशत भाडादर छुट तत्काल कार्यान्वयन गर्न दबाबस्वरूप जिल्लाभरबाट ५ हजार विद्यार्थीको हस्ताक्षर संकलन गरेर सरकारलाई बुझाउने निर्णय पनि गरेको छ ।
