खोटाङ, पौष ०३ । खोटाङमा वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै उद्यम गरी स्वरोजगार बनेका पाँच जना सम्मानित भएका छन् । वैदेशिक रोजगारीको क्रममा सिकेको सीप उपयोग गरेर गाउँमै स्वरोजगार गरिरहेका पाँच जना उद्यमीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगद तथा कदरपत्रसहित सम्मान गरेको हो ।
इलेक्ट्रिसियनको काम गरिरहनुभएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका दुर्गाबहादुर राई, सोही स्थानका भोजकुमार श्रेष्ठ, प्लम्बिङको काम गरिरहनुभएका सोल्माकै काशकुमार राई, वेल्डिङ ग्रिल उद्योग सञ्चालन गरिरहनुभएका नगरपालिका–६ नेर्पाका रोशन राई र बंगुर फार्म सञ्चालन गरिरहनुभएका नगरपालिका–१४ वुईपाका दीपेन्द्र उदास सम्मानित हुनुभएको हो ।
बंगुर फार्म सञ्चालन गर्ने उदासलाई नगद २० हजारको चेक र अन्यलाई आफ्नो काममा प्रयोग हुने ५ हजार रकम बराबरको सामग्री र १५ हजारको चेक हस्तान्तरण गरिएको छ ।
वैदेशिक रोजगारीबाट सिकेको सीप प्रयोग गरेर स्वरोजगारको क्षेत्रमा उदाहरणीय काम गरेकाले उहाँहरूलाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।
बालसेवा समाज नेपाल, नेर्पाको सामी परियोजनाले दिक्तेलस्थित होटल शुभदिनमा अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाउनका लागि आयोजित कार्यक्रममा उहाँहरूलाई नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले चेक तथा सामग्री हस्तान्तरण र कदरपत्रले सम्मान गर्नुभयो ।
कार्यक्रममा सुरक्षित आप्रवासनका लागि सरोकारवालारूको भूमिका विषयमा अन्तरक्रिया पनि भएको थियो । अन्तरक्रियाका सहभागीहरूलाई वैदेशिक रोजगारीमा सीपको महत्त्व, आवश्यक सूचना, सो क्रममा आइपर्ने समस्या र समाधानलगायत विषयमा जानकारी गराइएको बालसेवा समाज नेर्पाकी अध्यक्ष चन्द्रकला भुजेलले जानकारी दिनुभयो ।
