Thursday, April 16News That Matters

खोटाङमा ट्राफिक नियम विपरीत सवारी चलाउनेको संख्या निरन्तर उकालो

सांकेतिक तस्वीर

खोटाङ, पुस ४ । खोटाङमा ट्राफिक नियम विपरीत सवारी साधन चलाउनेको संख्या महिनैपिच्छे बढ्दै गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङको सवारी कारबाहीको तथ्यांकले जिल्लामा ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाउनेको संख्या बढ्दो अवस्थामा रहेको देखाएको हो ।

जिल्लामा मंसिर महिनामा मात्र ट्राफिक नियम विपरीत सञ्चालन गरिएका ९ सय ४५ वटा सवारी साधन कारबाहीमा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले जनाएको छ ।  जिल्ला ट्राफिक प्रहरी इन्चार्ज दिलबहादुर खत्रीका अनुसार कारबाहीमा परेका सवारी साधनमा सबैभन्दा बढी मोटरसाइकल ४ सय १० वटा रहेका छन् ।

यस्तै कार–जीप–भ्यान ३ सय २५ वटा, ट्रक १ सय ६ वटा, ट्याक्टर ८० वटा, अटो–टेम्पो १६ वटा, बस र टिप्पर ४/४ वटा कारबाहीमा परेका छन् । यी सवारी साधन कारबाहीबाट ७ लाख १० हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको खत्रीले जानकारी दिनुभयो ।

सवारी चालक अनुमतिपत्र नलिएका, हेल्मेट र सिटबेल्ट नलगाएका, साथमा कागजात नबोकेका, स्वरूप परिवर्तन, ओभरस्पिड, ओभरलोड र मादक पदार्थ सेवन गरी चलाइएका सवारी साधनका चालकलाई कारबाही गरिएको हो ।

जिल्लामा अघिल्लो महिना कात्तिकमा ट्राफिक नियम उल्लंघन गरी चलाइएका ९ सय ५ वटा सवारी साधन कारबाहीबाट ६ लाख ५३ हजार राजश्व संकलन भएको थियो । यो महिना विभिन्न राजनीतिक दलहरूको अधिवेशनका लागि जिल्ला भित्रिनेको संख्या बढेकाले सवारी कारबाहीको संख्या थप बढेको ट्राफिक प्रहरीले जनाएको छ ।