
खोटाङ, पुस ४ । खोटाङमा सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सप्ताह सुरु भएको छ । खोटाङसहित प्रदेश १ का १४ वटै जिल्लामा ट्राफिक सप्ताह विभिन्न कार्यक्रम गरी सुरु भएको हो ।
खोटाङमा सुरु सप्ताहको आज दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालले रिबन काटेपछि एक बालिकालाई हेल्मेट लगाइदिएर उद्घाटन गर्नुभएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नं १ र १ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरी, सुनसरीको आयोजना तथा जिल्ला प्रहरी कार्यालय खोटाङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङको सहकार्य र समन्वयमा आयोजित ट्राफिक सप्ताह एक हप्तासम्म विभिन्न ट्राफिक सचेतनामूलक कार्यक्रम गरी मनाइने जिल्ला ट्राफिक प्रहरी इन्चार्ज दिलबहादुर खत्रीले बताउनुभयो ।
सप्ताहको पहिलो दिन आज जिल्ला सदमुकाम दिक्तेलस्थित रत्नपार्कबाट हाटडाँडासम्म प्रभातफेरी निकालिएको थियो ।

जिल्लामा ट्राफिक नियम विपरीत सवारी साधन चलाउनेको संख्या महिनैपिच्छे बढ्दै गएको छ । जिल्लामा मंसिर महिनामा मात्र ट्राफिक नियम विपरीत सञ्चालन गरिएका ९ सय ४५ वटा सवारी साधनका चालक कारबाहीमा परेका छन् ।
सवारी नियम उल्लंघन र दुर्घटनामा कमी ल्याउनमा पनि ट्राफिक सप्ताह केन्द्रित रहने जिल्ला ट्राफिक प्रहरी इन्चार्ज दिलबहादुर खत्रीको भनाइ छ ।
