Thursday, April 16News That Matters

केपिलासगढीद्वारा विद्यालयलाई ग्याँस सिलिन्डर र चुल्हो वितरण


खोटाङ, पुस ५ । जिल्लाको केपिलासगढी गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालनमा रहेका ३७ वटा सामुदायिक विद्यालयहरूलाई प्रति विद्यालय एक सेट ग्याँस सिलिन्डर र चुल्हो वितरण गरेको छ । गाउँपालिकाको बार्षिक कार्यक्रम अनुसार ३ लाख ३१ हजार ५ सय ९५ रुपैयाँ रकमबाट खरिद गरी गाउँपालिकाका आधारभूत तथा माध्यमिक विद्यालयलाई ग्याँस सिलिन्डर र चुुल्हो वितरण गरिएको हो ।

विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरूलाई चिया–खाजा खानमा सहयोग पु¥याउने उद्देश्यले ग्याँस सिलिन्डर र चुल्हो वितरण गरिएको गाउँपालिकाका शिक्षा शाखा अधिकृत सु्रेन्द्र खनालले जानकारी दिनुभयो ।

कोभिडपछिको शैक्षिक गतिविधि विषयमा छलफल गर्न आज ३७ वटै विद्यालयका प्रधानाध्यपक सहभागी कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्णकुमाार राई र उपाध्यक्ष हिराकुमारी वन गिरीले सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई ग्याँस सिलिन्डर र चुल्हो हस्तान्तरण गर्नुभएको छ ।

यस्तै प्रधानाध्यापकहरूसँगको छलफलमा विद्यालय सुधार योजना कार्यक्रम प्रभावकारी कार्यान्वयनका लागि शिक्षा शाखाको समन्यवमा वडा तहमा तालिम सञ्चालन गर्नुपर्ने माग आएकाले चाँडै नै तालिम सञ्चालन गर्ने निर्णय भएको छ । त्यसैगरी कोभिडका कारण प्रभावित विद्यालयको साप्ताहिक कार्यक्रमलाई प्रत्येक शुक्रबार पाँच घण्टी पढाइ सकिएपछि निरन्तरता दिने निर्णय भएको शिक्षा शाखा अधिकृत खनालले बताउनुभयो ।