Thursday, April 16News That Matters

नगरपालिकाद्वारा स्वास्थ्यकर्मीलाई पोषण सम्बन्धी क्षमता अभिवृद्धि तालिम प्रदान

खोटाङ, पुस ५ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगर क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई वृहत पोषण प्याकेज सम्बन्धी आधारभूत क्षमता अभिवृद्धि तालिम दिन सुरु गरेको छ । स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गराई समुदाय स्तरमा पोषणको अवस्था सुधार गर्न सात दिने तालिम आयोजना गरिएको नगरपलिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

पोषणको अवस्थाबारे जानकारी नहुँदा विभिन्न रोग लाग्ने तथा सोही कारण कतिपयले अकालमै ज्यान गुमाउने गरेको तथ्यलाई स्मरण गर्दैै कुपोषण घटाउने उद्देश्यका साथ तालिम दिन सुरु गरिएको नगर स्वास्थ्य प्रमुख तीर्थ आचार्यले जानकारी दिनुभयो ।

आजदेखि पुस ११ गतेसम्म सञ्चालन हुने तालिममा जिल्ला अस्पताल तथा नगरका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी गरी २५ जना सहभागी छन् । सदरमुकाम दिक्तेलस्थित होटल शुभदिनमा आयोजित तालिमका सहभागीहरूले तालिम सकिएपछि आफू कार्यरत क्षेत्रका महिला स्वास्थ्य स्वयंसेविकालाई यस्तै प्रकारको क्षमता अभिवृद्धि तालिम दिने नगर स्वास्थ्य प्रमुख आचार्यले बताउनुभयो ।

नगरपालिकाले गत वर्ष पनि नगर क्षेत्रमा कार्यरत स्वास्थ्य संस्थाका ३० जना प्रमुखहरूलाई यस सम्बन्धी तालिम दिएको थियो । अहिले सञ्चालन भइरहेको तालिमपछि नगरपालिकाका ८० प्रतिशत स्वास्थ्यकर्मी तालिम प्राप्त हुने नगरपालिकाले जनाएको छ ।