
राजकुमार भट्टराई(सरगम)
खोटाङ, पुस ६ गते । खोटाङको रावाबेसी गाउँपालिकामा पहिलो पटक बैंक पुगेको छ । गाउँपालिकाको केन्द्र कुभिण्डे, हरम्टारमा राष्ट्रिय वाणिज्य बैंकको पाँचौ शाखा विस्तार भएको हो । शाखाको आज (मंगलवार) एक कार्यक्रमका बिच लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले उद्घाटन गर्नुभएको हाम्रा पालिका सहकर्मी युवराज भट्टराईले जानकारी दिनुभयो ।
जिल्लाका अन्य सबै पालिकामा विभिन्न बैंकका शाखा विस्तार भइसक्दा पनि रावाबेसीमा भने यस अघिसम्म कुनै पनि बैंकको शाखा पुगेको थिएन । लामो समयको पहलपछि गाउँपालिका केन्द्र हरम्टार कुभिण्डेमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार हुन सफल भएको गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले बताउनु भयो ।
बैंकको लागि भवन निर्माणको आवश्यक प्रक्रिया अगाडि बढाउन रा.वा.बैंक १ नं. प्रदेश कार्यालय विराटनगर, रा.वा. बैंक शाखा कार्यालय दिक्तेल र गाउँपालिकाबीच गत मंसिर ९ गते सम्झौता भएको थियो । तत्काललाई गाउँ पालिकाको केन्द्र नजिकै रहेको गाउँपालिकाको कर्मचारी आवास गृहको भवनमा बैंकको शाखा राखिएकोे र नयाँ भवन निर्माणपछि सारिने गाउँपालिकाले जनाएको छ ।
नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता अनिवार्य बैंकिङ प्रणालीबाट वितरण गर्न निर्देशन दिए पनि गाउँपालिकामा बैंक नहुँदा समस्या भएको थियो । यस्तै सामान्य बैंकिङ कारोबारका लागिसमेत जिल्ला सदरमुकाम दिक्तेल पुग्नुपर्ने बाध्यता थियो । नजिकै बैंक नहुँदा गाउँपालिकामा सञ्चालन हुने योजनाका कामको कारोबारमा पनि कठिनाइ हुने गरेको थियो । अब गाउँपालिकामै बैंकको शाखा विस्तार भएपछि यी सबै समस्या हट्ने गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले बताउनुभयो ।
उद्घाटन कार्यक्रममा लोकसेवा आयोकका अध्यक्ष माधव रेग्मी, रा.वा. बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ, रावाबेसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौला, उपाध्यक्ष समला राई, प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहाल, गोरखनाथगण खोटाङका प्रमुख सेनानी नरोत्तम पौडेल, जिल्ला प्रहरी कार्यलय खोटाङका प्रमुख उमेश लम्साल, जिल्ला ससस्त्र प्रहरी कार्यलय खोटाङका प्रमुख सरोज कार्की, सबै वडाका वडाध्यक्ष एवं वडा सदस्यहरु, बिभिन्न राजनितिक दलका पालिका अध्यक्ष एवं प्रतिनिधि, सवाजसेवी, शिक्षक लगायतको उपस्थिती रहेको थियो ।
स्थानीय भन्छन आनन्दको सास फेरियो
रावाबेसी गाउँपालिका ४ डुम्रे धारापानीका देवी प्रसाद पाण्डे भन्नु हुन्छ, ‘पहिले हामी उदयपुरको कटारीबाट एक साताको बाटो हिड्दै ढाकरमा नुन बोकेर खाईयो तर बिस्तारै गाउँमा सडक आएपछि बल्ल सुबिधा भयो है भन्ने लाग्यो झन अहिलेत घर अगाडि बैंक आएपछि सोर्ग भनेको यहिपो होकी भन्ने लाग्न थाल्यो मलाई’ ।
पाण्डेलाई मात्र हैन कि यतिबेला गाउँपालिकाका हरेक नागरिकलाई बैंकको शाखा बिस्तारले हर्षित बनाएको छ । गाउँपालिकामा सञ्चालन हुने बिभिन्न कार्यक्रहरु सम्झौताको लागि गाउँपालिका केन्द्र हरमटारमा आउनु पर्ने अनि खाता खोल्न एक दिनको माया मारेर दिक्तेल जानु पर्ने बाध्यताले ग्रसित नागरिकहरुले अहिले आनन्दको सास फेरेको स्थानीय भानुभक्त घिमिरे बताउनु हुन्छ ।
बैंकिङ कारोबारका लागि रावाबेसी गाउँपालिकाबासीलाई समस्या थियोनै अझै धेरै समस्या अपांगता भएता ब्यक्ति, बृद्धबृद्धालाई थियो तर बैंकको शाखा विस्तारले यस्ता सबै समस्याको अन्त्य हुँदा उक्त खुशी साटासाट गर्न सोहि ठाउँ घर भएपनि हाल काठमाण्डौ बस्दै आउनु भएका नवराज पाण्डे उद्घाटन कार्यक्रममा सहभागी हुन गाउँ आएको बताउनु हुन्छ ।

