खोटाङ, पुस ७ । खोटाङको खोटेहाङ गाउँपालिका–४ बडकादियाले, नौलाकी दुवै मिर्गौला फेल भएकी १४ वर्षीया बालिका कविता विश्वकर्माको उपचारका लागि परिवारले सहयोगको याचाना गरेका छन् ।
दुवै मिर्गौला फेल भएर गत मंसिर ९ गतेदेखि शिक्षण अस्पताल महारागञ्ज, काठमाडौँमा भर्ना गरिएकी कविताको अहिले पेडियाट्रिक विभागका डा. सीताराम न्यौपाने नेतृत्वको चिकित्सकको टोलीले मिर्गौलाको डायलासिस गरिरहेको छ । उपचारका क्रममा डाक्टरबाट होमोडायलासिस वा मिर्गौला प्रत्यारोपण गर्नुपर्ने सुुझाव आएकाले थप आर्थिक समस्या भएको कविताको उपचारका लागि अस्पतालमा सँगै रहनुभएका उहाँका काका चन्द्रबहादुर विश्वकर्माले बताउनुभयो ।
कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि परिवारले इच्छुकलाई आर्थिक सहयोग गर्न अपिल गरेका हुन् । सहयोग गर्न चाहने व्यक्तिले बिरामी बालिका कविताका बुुबा श्यामकुमार विश्वकर्मालाई ९८६०५५४४२४ मा सम्पर्क गर्न वा राष्ट्रिय वाणिज्य बैंक, खोटाङबजार शाखामा उहाँको नाममा रहेको खाता नं. २३८०१००००३६२७०१० मा सोझै रकम जम्मा गर्न सक्नेछन् ।
बालिकाको उपचारार्थ विद्यालयले जुटायो सहयोग
यसैबीच बिरामी बालिकाको उपचारार्थ कक्षा ९ मा उनी अध्ययनरत भगवती दिनानाथ मावि खोटाङबजारका विव्यस अध्यक्ष अम्बरसिंह बस्नेत, प्रअ कुमार पराजुली, शिक्षक र सहपाठीहरू र खोटेहाङ गाउँपालिकाका कम्प्युटर अपरेटर रोशन पौडेलको संयुक्त पहलमा आर्थिक सहयोग जुटाइएको छ ।
बालिकाको उपचारमा सहयोग पु-याउने उद्देश्यले सोमबार सञ्चालित ‘कविता विश्वकर्मा बचाऊ अभियान’ मार्फत ७१ हजार २ सय ६० रुपैयाँ आर्थिक संकलन गरेर अभियानमा सँगै रहनुभएका बालिकाका बुुबा श्यामकुमारलाई हस्तान्तरण गरिएको विव्यस अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।
‘सेवा नै मानवीय धर्म हो’ विव्यस अध्यक्ष बस्नेतले भन्नुभयो, ‘हाम्रो सानो सहयोगले कलिलो उमेरमै ज्यान जोखिममा परेकी बालिकाको जीवन बचाउँछ र परिवारमा खुशी फर्काउन सकिन्छ भने किन सहयोग नगर्ने !’

यसैगरी बालिकाको उपचारार्थ सहयोगका लागि भगवती दिनानाथ मावि, खोटाङबजार पूर्व विद्यार्थी समाजले पनि आर्थिक संकलन अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।
