
खोटाङ, पुस ७ । खोटाङको रावाबेसी गाउँपालिका–५ दुबेकोलमा ४ करोड ५० लाख रुपैयाँको सिँचाइ आयोजना शिलान्यस भएको छ । खाडो नदी नियन्त्रण आयोजना कार्यालय राजविराजबाट कार्यान्वयन हुने एकीकृत उर्जा तथा सिँचाइ विशेष आयोजना अन्तर्गत स्वीकृत बजेटबाट दुबेकोल लिफ्ट इरिगेसन आयोजना शिलान्यस भएको हो ।
आयोजनाको बुधबार लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले शिलान्यास गर्नुभएको छ । जलस्रोत तथा सिँचाइ विभागका सीडीई विजयकुमार रेग्मी , बैंक अफ काठमाडौँका सञ्चालक गोविन्दप्रसाद शर्मा रेग्मी र रावाबेसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाको संयुक्त पहलमा दुबेकोलेमा उक्त योजना ल्याइएको हो ।
आयोजना आगामी वर्ष २०७९ को असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने गरी रौताहा भिमेश्वर एआरके जेभीले ठेक्का पाएको छ । रावाखोलाबाट पानी लिफ्टिङ गरेर दुवेकोलको रेग्मीगाउँमा पु-याईने उक्त योजना सम्पन्न पश्चात करिब २२ हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुग्ने अनुमान गरिएको छ ।
