Thursday, April 16News That Matters

पाथेकामा एकै दिन एउटै विद्यालयका दुई वटा भवन उद्घाटन

खोटाङ, पुस ८ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १० पाथेकामा एकै दिन एउटै विद्यालयका दुई वटा भवन उद्घाटन भएको छ । पाथेका स्थित सरस्वती माध्यमिक बिद्यालयको २ तले ४ कोठे भवन र ३ कोठे पक्की भवनको बुधबार एक कार्यक्रमका बिच नगरपालिकाका मेयर दिप नारायण रिजाल र उपमेयर बिणादेवी राईले संयुक्त रुपमा उद्घाटन गर्नु भएको मेयर रिजालका राजनितिक सल्लाहकार कमल ढकालले जानकारी दिनुभयो ।

जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) कार्यलय खोटाङको रु ७० लाख ४० हजारमा २ तले ४ कोठे विद्यालयको भवन र रु १५ लाखमा शौचालय निर्माण भएको हो । यस्तै उद्घाटन भएको अर्को ३ कोठे भवन नगरपालिकाको रु ३५ लाख लागतमा निर्माण भएको हो भने सोहि रकमबाट विद्यालयको परिसरमा तारजालीको घेराबारसमेत लागाइएको ढकालले बताउनु भयो ।

वि.सं. २०१७ सालदेखि सञ्चालनमा आएर कक्षा १० सम्म पठनपाठन भइरहेको उक्त विद्यालयमा यतिबेला ४१४ जना विद्यार्थीले अध्यान गरिरहेका विद्यालयले जनाएको छ । विद्यालयलाई निःशुल्क जग्गा दिनुहुने जग्गादाता जगतबहादुरको परिवारको तीनपुस्ते नामावली लेखिएको ताम्रपत्रसमेत अनावरण गरिएको छ ।