Friday, April 17News That Matters

“मुक्तक लहर” का उत्कृष्ट १५ मुक्तक


पुस ८ । कार्यक्रम “मुक्तक लहर” तीन वटा रेडियोबाट एकैसाथ प्रसारण हुँदै आएको छ । खोटाङ जिल्लाबाट सञ्चालित रेडियो खोटाङ १०३.३ मेगाहर्ज, सामुदायिक रेडियो हलेसी एफ.एम १०२.४ मेगाहर्ज र सोलुखुम्बु जिल्लाबाट सञ्चालित पुर्वि क्षेत्रको पहिलो सामुदायिक रेडियो सोलु एफ.एम १०१.२ मेगाहर्जबाट हरेक मंगलबार राती ९ः१५ देखि १० बजे सम्म कार्यक्रम “मुक्तक लहर” सुन्न सकिनेछ । साहित्यको मुक्तक विद्याको रेडियो कार्यक्रम “मुक्तक लहर”मा मुक्तक लहरको फेसबुक पेजबाट सहभागिता जनाउन सकिनेछ ।

पुस ६ गतेको अंकमा प्रसारण भएका उत्कृष्ट १५ मुक्तकहरु

१,
तिम्ले नफकाए अर्कोले फकाउछ भन्दै हिड्ने
र खुट्टाले जुत्ता छानीछानी पाउछ भन्दै हिड्ने
अक्सर प्रेमको परिभाषा नबुझ्ने हरुले नै हुन्
कालो गए गोरो फर्किएर आउँछ भन्दै हिड्ने
मिलन क्षेत्री बादल
डोटि हाल साउदी
अरेबिया
२,
साततले महल राजधानीमा घर कसरी हुन्छ
जताततै हेलिकप्टरको सफर कसरी हुन्छ
कोही पाखुरा चलाउँदा पनि भोकभोकै छन्,
नेताज्यूको जिब्रोकै यत्रो दर कसरी हुन्छ।
प्रकाश कुइँकेल
असम, भारत
३,
न मानी लाज न मानी भुल मन्दिर जान्छ,
के सिक्यो होला गएर स्कुल मन्दिर जान्छ,
जस्ले आमा बुवालाई वृद्धा आश्रम पठायो,
उहीँ पत्थर लाई चढाउन फुल मन्दिर जान्छ,
दिनेश अधिकारी ’दिनु’
छेडागाड नगरपालिका ९पजारु जाजरकोट
४,
के गर्दा चाहिँ होला ठिक, पीडा भा’को छ
चिन्तित हुन्छु छैनौँ नजिक, पीडा भा’को छ
उता तिमी अस्वस्थ छौ भन्ने खबर सुनेदेखी
यता मलाई नि अत्यधिक पीडा भा’को छ।
मोती निरौला
केपिलासगढी गाउँपालिका ७ खोटाङ
हाल ः प्रवास
५,
तिम्रा हर सर्तहरू मान्छु, भन्ने गथ्र्यो मलाई
असल र इमान्दार ठान्छु, भन्ने गथ्र्यो मलाई
आखिर उसैले यो मनमुटु तोडेर फरार भयो
जसले हृदयदेखि चाहान्छु,भन्ने गथ्र्योे मलाई
हिउँकला हाँसी खतिवडा
ठेगाना ः कमलबजार अछाम,
६,
बाध्यताले भनौं या रहरले, गन्तव्यमा पु¥याउछ
बिना कोहि कसैको डरले, गन्तव्यमा पु¥याउछ
सँगै यात्रा गरौं भन्नेले बिचैमा छोडेर जान्छ हेर
बरु नचिनेको ड्राइभरले, गन्तव्यमा पु¥याउछ
बिर्ख वाईबा तामाङ
घ्याङलेख गाउँपालिका २
सिन्धुली
७,
आईरहन्छ झल्को हरबखत, यस्तै त हो नि
सम्झेर रुने भैसक्यो आदत, यस्तै त हो नि
यादहरू को भारिले बिट मार्नै पाउदैन
हामी मुटु दुखेका हरूको हालत, यस्तै त हो नि
रेजिना कुँवर अछाम
८,
गरेपनि दुनियाँले जालझेल सँगै गरौंला
खेल्छन् अनेक अनेक खेल सँगै गरौंला
आउ अनि यो छातीमा प्रीत रोपेर जाउ
हुर्कियो बढ्यो भने गोडमेल सँगै गरौंला
गोविन्द लाफाली
उदयपुर
९,
आफै गर्नुहोस् बिचार जित्नेहरुको हो
चर्चा गरिन्छ बारम्बार जित्नेहरुको हो
यहाँ कम्जोर मान्छेलाई कसैले चिन्दैन
यो समयमा यो संसार जित्नेहरुको हो
नारायण वि क ’कल्पित’
रुकुम पश्चिम
१०,
भएन एकरूपता भएन सहमत विवाद छ
एक पटक मात्र होइन हरबखत विवाद छ
निष्पक्ष न्याय पाउछु भनी के विस्वस्थ हुनु
न्याय दिने यो न्यायलय अदालत विवाद छ
किरन थापा कृष
उदयपुर लिम्पाटार
११,
कठिन परिस्थितिमा अघि उभिन्छु भन्नेहरू
आइपर्ने दुःख कष्टहरु सबै लिन्छु भन्नेहरू
प्राय अप्ठ्यारो पर्दा दरिलो साथ समेत दिदैनन्
तिमीले माग्यौँ भने मुटु नै दिन्छु भन्नेहरू
प्रकाश महता
शिबनाथ ४ बैतडी
१२,
घरपरिवारमा माया लगाएको थाहा भएकै होला
थोरै भएपनि पैसा कमाएको थाहा भएकै होला
यति गर्दागर्दै किन बिदेश जाउ भन्नुहुन्छ आमा
बिदेश बाट नै लास आएको थाहा भएकै होला
दुर्गा सानु खड्का
खोटेहाङ २ खोटाङ
हाल काठमाडौं
१३,
कोमल मनमा किला भएर गाडिन्छ फेरि
त्यसै ज्यान सिथिल हुन्छ सकिन्छ फेरि
न देखाउँ भन्छु यो मनको पीडा कसैलाई
आँखामा आँसुको मूल बनेर बर्सिदिन्छ फेरि
रोशन खड्का
दार्मा ५ सल्यान
१४,
आँखामा सजाउ मुटुमा बसाउ तिम्रो मर्जी
शिरमा चढाउ पाउमा खसाउ तिम्रो मर्जी ।
तिमी त मेरो आफ्नै मान्छे जे गर्दा नि हुन्छ
अँगालो लगाउ या छुरी धसाउ तिम्रो मर्जी ।।
भद्र घर्ती कान्छा
माडी गाउपालिका ४ रिजाबाङ रोल्पा
हालः साउदी अरब
१५,
केही बेर टोलाई रहें तिम्रै तस्बिर हेरी आमा
बाल्यकालको याद आयो आज पनि फेरी आमा
खाई नखाई दुःख गरी जन्म दियौँ कर्म दियौ
तिमी मन्दिर तिमी भगवान् मेरा लागि मेरी आमा
निर्मला खत्री
सुनकोसी गाउँपालिका ३ ओखलढुङ्गा