
खोटाङ, पुस ९ । जिल्लाको रावाबेसी गाउँपालिकाले कृषकलाई आधुनिक कृषि औजार उपकरण सञ्चालन तथा व्यवस्थापन सम्बन्धि दुई दिने आधारभूत तालिम प्रदान गरेको छ । गाउँपालिकाको कृषि विकास शाखाको आयोजनामा हिजो र आज कृषि औजार उपकरण वितरण गरिएका २२ कृषक समुहका ३५ जना कृषक सहभागी गराई तालिम प्रदान गरिएको हो ।
तालिमको हिजो रावाबेसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले उद्घाटन गर्नुभएको थियो । कृषिमा व्यावसायीकरणका लागि आधुनिक कृषि औजार उपकरणको उपयोग अपरिहार्य भएकाले तालिम आयोजना गरिएको गाउँपालिकाको कृषि विकास शाखाका प्रमुख मुगाधन राईले जानकारी दिनुभयो ।
तालिममा खोटाङ एग्रोट्रेड एण्ड सप्लायर्सका प्रबन्धक धर्मराज राई, कृषि औजार प्राविधिकहरू दीपक राई र नेत्र राइले सहजीकरण गर्नुभएको थियो ।
आधुनिक कृषि औजार उपकरण सञ्चालन तथा व्यवस्थापनबारे जानकारी गराई कृषि उपकरणको प्रभावकारी प्रयोगमा सहयोग पु¥याउने उद्देश्यले तालिम दिइएको गाउँपालिकाले जनाएको छ ।
