
खोटाङ, पुस २४ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ स्थित स्वास्थ्य चौकी खाल्लेमा इलेक्ट्रिक वाटर डिस्पेन्सर जडान गरिएको छ । सवारी दुर्घटनामा परी निधन भएका मालपोत कार्यालय खोटाङका नायव सुब्बा हरिलाल राईको स्मृतिमा उहाँको परिवारले निःशुल्क प्रदान गरेको उपकरण स्वास्थ्य चौकीमा जडान गरिएको हो ।
स्वर्गीय राईका दाजु प्रकाश राईले आफ्ना भाइको वार्षिक पुण्यतिथिको अवसरमा स्वास्थ्य चौकीलाई पुस ८ गते उक्त उपरकरण हस्तान्तरण गर्नुभएको थियो । उपकरण जडानसँगै स्वास्थ्य चौकीका कर्मचारी र उपचारका लागि आउने बिरामीहरूलाई शुद्ध पिउने पानीको सुविधा भएको स्वास्थ्य चौकी खाल्लेका प्रमुख सन्तोष भट्टराईले बताउनुभयो । उक्त उपकरणमा आवश्यकता अनुसार चिसो वा तातो पानी राखेर पिउन सकिने उहाँको भनाइ छ ।
गत वर्ष पुस ८ गते मालपोतसँग सम्वन्धित गोष्ठीको सिलसिलामा उदयपुरको गाईघाट पुगेर लहान हुँदै फर्कने क्रममा बसको ठक्करबाट मोटरसाइकलमा सवार नासु राईको घटनास्थलमै ज्यान गएको थियो ।
