Saturday, April 25News That Matters

जन्तेढुंगा गाउँपालिकामा ४१ किलोमिटर ग्रामीण सडक कालोपत्रे हुँदै

फाइल तस्वीर ।

राजकुमार भट्टराई (सरगम)-
खोटाङ, पुस २८ । खोटाङको जन्तेढुंगा गाउँपालिकामा ४१ किलोमिटर ग्रामीण सडक कालोपत्रे हुने भएको छ । वराहपोखरी गाउँपालिकाको बङ्सिलादेखि देविस्थान, चिसापानी हुँदै खोटेहाङसम्मको सडक एसियाली विकास बैंक (एडीबी) को आर्थिक सहयोग र जन्तेढुंगा गाउँपालिकाको समन्वयमा कालोपत्रे हुन लागेको हो ।

जिल्लाकै विकट मानिने जन्तेढुंगा गाउँपालिकामा सडकको ट्रयाक खोलिए पनि बर्खाको समयमा सवारी साधन ठप्प हुने गरेको छ । गाउँपालिकाको दुई वर्षदेखिको पहलमा सडक कालोपत्रे हुन लागेको गाउँपालिकाका रोजगार संयोजक विज्ञान राईले जानकारी दिनुभयो । ट्रयाक खोलिसकिएको उक्त सडकलाई स्तरोन्नति गर्दै कालोपत्रे हुने गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । अबको एक माहिनाभित्रमा ठेक्का प्रक्रिया टुगिंने र काम सुरु हुने उहाँको भनाइ छ ।

प्रति किलोमिटर ७ करोड लागत लाग्ने गरी तयार भएको डीपीआर अनुसार जम्मा ४१ किलोमिटर सडक कालोपत्रे गर्न ३ अर्ब लागत अनुमान गरिएको छ । छिमेकी जिल्ला उदयपुरको सिमानामा पर्ने सुनकोशी नदीको फेदीमा पक्की पुल निर्माण पनि एडीबीले गर्ने गरी सम्झौता भएको गाउँपालिकाले जनाएको छ ।

सुनकोशी नदीमा पुल निर्माणसँगै सडक पनि कालोपत्रे हुने भएपछि स्थानीय हर्षित भएका छन् । तराईसँग बाह्रै महिना सडक सञ्जालले जोडिएपछि दैनिक उपभोग्य सामानको मूल्य घट्ने साथै यात्रा गर्न सहज हुने स्थानीय महेन्द्र राईले बताउनुभयो । सडक कालोपत्रे भएपछि बिरामीलाई समयमै अस्पताल पु-याउन सकिने र अकालमा कसैले ज्यान गुमाउनु नपर्ने अर्का स्थानीय बालकुमार खड्काले बताउनुभयो ।

उक्त सडक कालोपत्रे हुँदा जन्तेढुंगा गाउँपालिकासँगै वराहपोखरी, खोटेहाङ र दिप्रुङचुइचुम्मा गाउँपालिकाका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् ।