Thursday, April 16News That Matters

खोटाङका १८ हजार बालाबालिकाले लगाए मोडर्ना खोप

प्रतीकात्मक तस्वीर ।

खोटाङ, पुस २८ । खोटाङका करिब १८ हजार बालाबालिकाले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाएका छन् । पुस १८ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको खोप अभियान अन्तर्गत जिल्लाका १२ वर्षदेखि १७ वर्षसम्मका करिब १८ हजार बालबालिकाले खोप लगाएका जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिनुभयो ।

दुई नगरपालिका र ८ गाउँपालिका गरी दश स्थानीय तह रहेको यस जिल्लामा रावाबेसी, खोटेहाङ, दिप्रुङचुइचुम्मा, वराहपोखरी, साकेला, ऐँसेलुखर्क गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिकामा १८ गतेदेखि २१ गतेसम्म खोप अभियान सञ्चालन भएको थियो ।

यस्तै जन्तेढुंगा र केपिलासगढी गाउँपालिकामा पुस १९ गतेदेखि २२ गतेसम्म र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २१ गतेदेखि २३ गतेसम्म खोप अभियान सञ्चालन भएको थियो । सबै स्थानीय तहले विद्यालयमै बालबालिकालाई खोप लगाएका हुन । मोडर्ना खोपको पहिलो मात्रा लगाएका ती बालबालिकालाई एक महिनापछि दोस्रो मात्रा दिइने सिग्देलले बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय खोटाङको तथ्याङ्क अनुसार जिल्लामा अहिले कोरोनाका तीन जना सक्रिय संक्रमित छन् भने हालसम्म ७४ हजार ७ सय ७४ जनाले पहिलो र ६३ हजार ३ सय ३ जनाले पूर्ण मात्रा कोरोनाविरुद्धको खोप लगाएका छन् ।

स्वास्थ्य कार्यालय प्रमुख सिग्देलले जोखिम बढ्दै गएकाले स्वास्थ्य मापदण्ड पालनामा उदासीन नबन्न सबैलाई आग्रह गर्नुभएको छ ।