
खोटाङ, पुस २९ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले राजनीतिक दलको नेता बन्न चाहनेले पत्रकारिता छोड्नुपर्ने बताउनुभएको छ । बिहिबार दिक्तेल भवनगैह्रास्थित थ्री ब्रदर्श होटलको सभाहलमा भएको ‘पत्रकार आचारसंहिता जागरण र मिडियाप्रतिको जनगुनासो सुनुवाइ’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष बस्नेतले यस्तो बताउनुभएको हो ।
काउन्सिलको आयोजना र नेपाल पत्रकार महासंघ खोटाङ शाखाको संयोजनमा भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै बस्नेतले पत्रकारिता आफैँमा स्वतन्त्र क्षेत्र भएकाले यसमा राजनीतिलाई प्रवेश दिन नहुने बताउनुभयो । राजीनितिमा लागेका व्यक्ति पत्रकारितामा रहँदा यसको गरिमा र विश्वसनीयतामा ह्रास आउने उहाँको भनाइ छ ।
पत्रकार जनताको प्रतिनिधि र विश्वासपात्र भएकाले यसमाथि प्रश्न उठ्ने ठाउँ बनाउन दिन नहुने बस्नेतले बताउनुभयो । पत्रकारले लेखेको समाचारका आधारमा समाजमा आम धारणा बन्ने बताउँदै अध्यक्ष बस्नेतले सत्य तथ्य समाचार लेखेर जनतालाई सुसूचित गर्न आग्रह गर्नुभयो ।
स्थानीय सरकार र पत्रकारबीच सहकार्य गरेर एकआपसमा सुमधुर सम्बन्ध कायम गर्न सकिने बस्नेतको धारणा छ । पछिल्लो समयमा जथाभावी सञ्चालन हुँदै आएका अनलाइन सञ्चार माध्यमलाई नियमन गर्न आवश्यक अध्ययन भइरहेको पनि अध्यक्ष बस्नेतले बताउनुभयो ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका केन्द्रीय सदस्य ठाकुर बेलबासेले आचारसंहिताभित्र रहेर पत्रकारिता कसरी गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रियामा सहभागी पत्रकारलाई प्रशिक्षण गराउनुभएको थियो ।
कार्यक्रममा काउन्सिल अध्यक्ष बस्नेत र केन्द्रीय सदस्य बेलबासेसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजाल, प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाल, गैरसरकारी संस्था महांसघ खोटाङका अध्यक्ष दानबहादुर राई, उद्योग वाणिज्य संघ खोटाङका महासचिव मनोज बजियम, वरिष्ठ पत्रकार कृष्ण आचार्य, पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्रीलगायत खोटाङका विभिन्न सञ्चार माध्यममा आबद्ध पत्रकाहरूको उपस्थिति रहेको थियो ।
