
खोटाङ, पुस २९ । आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा खोटाङबाट मतदान गर्ने जनप्रतिनिधिहरूबीच गठबन्धन दलले आफ्नो पक्षका उम्मेद्वारलाई जिताउन समन्वय गर्ने भएको छ । बुधबार गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको संयुक्त बैठक बसेको थियो ।
बैठकका निर्णय बिहिबार नेपाली कांग्रेस खोटाङको पार्टी कार्यालय वीपी स्मृति भवन दिक्तेलमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै जिल्लामा गठबन्धनको अध्यक्षता गरिरहनुभएका कांग्रेस सभापति विष्णुकुमार राईले उक्त जानकारी दिनुभएको हो । राष्ट्रियसभा निर्वाचनमा गठबन्धनमा आबद्ध दलका उम्मेद्वारलाई मतदान गरेर विजयी गराउन जिल्लाका विभन्न पालिकाका जनप्रतिनिधिबीच समन्वय गरिने राईले बताउनुभयो ।
बैठकले खोटाङ जिल्लाको समग्र विकास निर्माणको लागि साझा प्रयासहरू जारी राख्ने र गठबन्धनमा आबद्ध दलहरूको पालिकाहरूमा संयुक्त बैठक बसी जनताका माग प्रदेश र संघीय सरकारमार्फत तत्काल सम्बोधन गर्न पहल गर्ने पनि निर्णय गरेको छ । यस्तै गठबन्धनमा आबद्ध दलहरूबीचको सहकार्य र एकताको संयुक्त प्रयासलाई बलियो बनाउन गठबन्धनलाई पालिका र वडा तहसम्म पु-याउने निर्णय पनि बैठकले गरेको छ ।
बैठकपछि जारी प्रेस विज्ञप्तिमा कांग्रेस सभापति राई, माओवादी अध्यक्ष पृथ्वी किराँती, एकीकृत समाजवादी अध्यक्ष जलशेर राई र जसपा अध्यक्ष टङ्क थापाले हस्ताक्षर गर्नुभएको छ ।
